काठमाडौं, जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनका विज्ञ खोटाङ्गको बुइपामा जन्मिएका नेपाल प्रहरीका एआईजी ठूले राईलाई राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुख (सीईओ) बनाउने तयारी रहेको जानकारी प्राप्त भएको छ ।
नेपाल प्रहरीमा विपद ब्यवस्थापन र जोखिम न्यूनीकरणको क्षेत्रमा सबैभन्दा विज्ञ प्रहरी अफिसरको रुपमा परिचित राईलाई सरकारले नयाँ जिम्मेवारी दिन लागेको हो ।
गृह मन्त्रालयले ऐन बनेको २० महिनापछि २०७६ कात्तिक ८ मा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यवस्थापन प्राधिकरणको कार्यकारी प्रमुखको लागि आवेदन माग गरेको थियो ।
प्राधिकरणको सीईओका लागि नेपाल प्रहरीका एआईजी ठूले राईले पनि आवेदन दिएका थिए । प्रहरी प्रधान कार्यालयको स्वीकृति लिएर उनले आवेदन दिएका हुन् । आफू कार्यरत संघ संस्थाको अनुमति लिएर आवेदन दिन सकिने सूचनामा उल्लेख छ ।
प्राधिकरणको सीईओका लागि स्नातकोत्तर योग्यता तोकिएको छ । साथै विपत ब्यवस्थापन वा ब्यवस्थापन वा जनप्रशासन सूचना प्रविधि सम्बन्धी कम्तीमा ३० कार्य दिवसको अधिकृतस्तर वा ब्यवस्थापकीय तहको तालिम लिएको हुनुपर्ने उल्लेख छ । यी सबै योग्यता पुरा गरेका राईले प्राधिकरणको सीईओका लागि आवेदन दिएको स्वीकार गरे ।
प्राधिकरणको सीईओका लागि आवेदन दिने म्याद कात्तिक २४ मा सकिएको छ । गृह मन्त्रालयको विपत् अध्ययन जोखिम न्यूनीकरण पुनर्लाभ शाखामा सीईओका आकांक्षीहरुको निवेदन परिसकेको छ । सीईओका लागि आवेदन दिने उम्मेदवारहरुले १० हजार शब्द भएको ब्यवसायिक कार्ययोजना पनि पेश गर्नुपर्नेछ । शाखाले परेका आवेदनहरु खोली आवेदकहरुको छनोट प्रक्रिया शुरु गर्ने बताइएको छ ।
प्राधिकरणको सीईओको कार्यकाल ५ बर्ष हुने ब्यवस्था गरिएको छ । प्राधिकरणको सीईओ छनोट नभएमा उनी आगामी माघसम्म प्रहरीमा काम गर्नेछन् । राई हाल राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी) मा कार्यरत छन् ।
एआईजी राई नेपाल प्रहरीमा जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनमा सबैभन्दा काबिल प्रहरी अफिसर मानिन्छन् । नेपाल प्रहरीको विपद ब्यवस्थापन महाशाखामा लामो समय कार्यरत एआईजी राईले नेपालमा महाभूकम्पमा गएको समयमा पनि महाशाखाको प्रमुखको रुपमा प्रहरीको नेतृत्व गरेका थिए । त्यस बेलाको भूमिकालाई सबैले प्रशंसा गरेका थिए । प्रहरीको विपद ब्यवस्थापन महाशाखाको नीति निर्माणको नेतृत्व पनि उनलै गर्दै आएका छन् ।
नेपाल प्रहरीको नेतृत्व गरेर स्रोत व्यक्तिका रुपमा उनी बिभिन्न मुलुकहरुमा समेत गएका छन् । प्रहरीमा जोखिम न्यूनीकरण तथा विपद ब्यवस्थापनमा उनको गहिरो ज्ञान रहकै कारण पूर्व तयारी तथा जोखिम न्युनीकरणका प्रशिक्षणहरुमा उनलाई खटाइने गरिएको छ ।
उनले सन् २००१ मा एसियन डिजास्टर प्रिपेयर्डनेस सेन्टर (एडीपीसी) द्वारा नेपालमा दिइएको तालिम लिएका छन् । थाइल्यान्डको बैंककबाट क्षेत्रीय प्रशिक्षकको तालिम, फिलिपिन्समा ‘मास्टर इस्टक्टर’को कोर्स गरेका छन् ।
नेपाल प्रहरीलाई पनि त्यस क्षेत्रमा विज्ञको आवश्यकता खड्किरहेको बेला उनले नेपालसहित फिलिपिन्स, बंगलादेश, भारत र पाकिस्तानमा समेत विज्ञका रुपमा काम गरे । उनले नेपाल प्रहरी विपद व्यवस्थापन महाशाखाको तालिम सञ्चालन गर्ने ‘कोर्स मनिटर’ तथा ‘कोर्ष को–अडिनेटर’ भई तालिमको रुपरेखा तयार गर्ने तथा जनशक्ति परिचालन गरेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]