खोटाङ, । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले कक्षा–२ मा अध्ययनरत ७६ वर्र्षीया वृद्धालाई सम्मान गरेको छ । दिक्तेलस्थित सरस्वती माविमा अध्ययनरत केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी जुरीमायाँ राईलाई सोमबार दिक्तेलमा आयोजित विद्यालय नर्स, डिजिटल विद्यालय तथा विद्यालय स्वास्थ्य कार्यक्रम उद्घाटनकाक्रममा नगरप्रमुख दिपनारायण रिजाल र उपप्रमुख विणादेवी राईले सम्मानपत्रको साथमा दोसल्ला ओढाएर सम्मान गनेको कुरा मेयरका सल्लाहकार कमल ढकालले जानकारी गराएकाछन् ।
वृद्धाअवस्थामा पनि विद्यालय धाएर समाज तथा अन्य विद्यार्र्थीलाई शिक्षाप्रति प्रोत्साहित गरेकोले कदर स्वरुप सम्मान गरिएको नगरपालिकाले जनाएको छ । बुढेसकालमा विद्यालय भर्ना भएर ‘शिक्षा लिनका लागि उमेरले नछेक्ने’ उदाहरण बन्नुभएकाले जुरीमायाँलाई सम्मान गरिएको नगरप्रमुख दिपनारायण रिजालले बताउनुभयो ।
दिक्तेलबजारमै कोठा भाडामा लिएर बस्नुभएकी जुरीमायाँ किताब÷कापी बोकेर नातिनातिनी उमेरका बालबालिकासँगै विद्यालय धाइरहनुभएको छ । विक्रम सम्बत २००१ साल साउन–८ गते बिहिबार जन्मनुभएकी जुरीमायाँ २०७५ साल साउन–६ गते सरस्वती माविको कक्षा–१ मा भर्ना हुनुभएको थियो ।
पढाइप्रति निक्कै इच्छा राख्ने जुरीमायाँलाई नबुझेको कुरा आफैले पढेर बुझ्न सक्ने हुनुपर्ने छ । त्यसैले उहाँ विद्यालयको नियमित विद्यार्थीको रुपमा बिहान १० बजेदेखि बेलुकी ३ः२० सम्म कक्षाभित्रै रहनुहुन्छ ।
तीन वर्ष अघि बित्नुभएको जुरीमायाँको श्रीमान पूर्व ब्रिटिस लाहुरे हुनुहुन्थ्यो । जुरीमायाँको जमानामा पढ्ने र पढाउने कुरै नभए पनि श्रीमानसँग पल्टनमा रहँदा पढ्न शुरु गर्नुभएको थियो । तर, त्यहाँ बसेको एक महिना बित्न नपाउँदै हङकङ सर्नुपरेको कारण उहाँको पढ्ने चाहना अधुरै रहेको थियो । सोही अधुरो चाहना पूरा गर्न उहाँले कक्षा–१ बाट पढाइ शुरु गर्नुभएको हो ।
आफ्नो कोखबाट सन्तान नभएपछि कान्छी श्रीमतीको रुपमा उहाँको श्रीमानले अर्को विवाह गर्नुभएको थियो । कान्छीतर्फबाट जन्मेको चार छोरी र दुई छोराले पनि राम्रो नपढेकामा जुरीमायाँको गुनासो छ ।
ढल्कँदो उमेरकी जुरीमायाँले पढ्नमा भोक जगाइ दिन शिक्षकहरुलाई आग्रह गर्ने गर्नुभएको शिक्षक नूरकाजी सैँजूले बताउनुभएको छ । “मेरो आमा ७८ वर्षमा खस्नुभएको, ७६ वर्षको आमालाई पढाउन पाउँदा गर्व लागिराछ”, उहाँले भन्नुभयो, “धर्म पनि कमायौँ की भन्ने लाग्छ । यो हामी सबैको गौरवको कुरा हो ।”
सरस्वती मा.वि.मा जुरीमायाँसँगै निजी विद्यालय छाडेर आउने विद्यार्थीहरु अध्ययनरत छन् । जिल्लाको सबैभन्दा पूरानो सरस्वती मावि पछिल्लो समय शैक्षिक, भौतिक लगायत विभिन्न हिसाबले पुर्बकै नमूना विद्यालयको रुपमा स्थापित भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]