१७ माघ २०७६–सर्लाही । जिल्लामा पटक–पटक आन्दोलन गर्दा पनि गत वर्ष चिनी मिललाई बिक्री गरेको उखुको पैसा नपाएपछि सर्लाहीका किसान अघिल्लो महिना काठमाडौँस्थित माइतीघर मण्डला पुगेर धर्नामा बसेका थिए । उखु किसान पुसको चिसोमा कठ्याङ्ग्रिएर भुक्तानी माग्न धर्नामा बसेपछि सरकारले पुस १८ गते पाँचबुँदे सहमति गर्दै माघ ७ गतेभित्र चिनी उद्योगीबाट पुरानो सबै बक्यौता भुक्तानी गराउने प्रतिबद्धता जनाएको थियो ।
उद्योगमन्त्री लेखराज भट्ट आफैँले सहमति गरी आन्दोलन स्थगित गराई किसानलाई घर फर्काएका थिए । सरकार संग भएको सम्झौता बमोजिम भुक्तानी पाउने आशामा उखु उत्पादक किसान घर फर्किएका थिए तर मध्य माघ भइसक्दासमेत किसानले जिल्लाको अन्नपूर्ण चिनी उद्योग धनकौल पश्चिम र महालक्ष्मी चिनी उद्योग बगदहबाट भुक्तानी नपाएको गुनासो ब्यक्त गरेकाछन् ।
आन्दोलन गर्न काठमाडौँ गएका केही किसानको खातामा उद्योगीले पैसा हालिदिए पनि अन्य किसानले पैसा पाउन सकेका छैनन् । किसानको आन्दोलनपछि अन्नपूर्णले ४२ करोड बक्यौतामध्ये तीन करोड ९० लाख रुपियाँ र महालक्ष्मीले २१ करोड ४० लाखमध्ये ११ करोड ५० लाख रुपियाँ मात्रै भुक्तानी गरेको छ । अन्नपूर्णले अझै ३८ करोड र महालक्ष्मीले १० करोड बक्यौता भुक्तानी गर्न बाँकी रहेकोछ ।
चिनी उद्योगीसँगै सरकारले समेत किसानलाई गत वर्षकै अनुदान रकम दिएको छैन । उद्योगी र सरकार दुवैबाट पाउन बाँकी रकम उपलब्ध गराउन काठमाडौँ गएर फेरि एकपटक सरकारको ध्यानाकर्षण गराउने तयारी भइरहेको नेपाल उखु उत्पादक महासङ्घका अध्यक्ष कपिलमुनि मैनालीले बताएकाछन् । नगदेबाली उखु बेचेको पैसा लिन यसरी पटक–पटक आन्दोलन गर्नुपर्ने बाध्यताले उखु किसानमा नैराश्य बढ्दै गएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]