मुक्ति यादव
नेपाल एउटा दुई बिशाल अर्थतन्त्र र भुगोल भएको मुलुक चीन र भारतकोे बिचमा रहेको सानो मुलुक हो । तर सार्वभौम सत्ताको हिसाबले कुनै मुलुक सानो र ठुलो हुँदैमा कुनै फरक हुदैन भन्ने मान्यता सर्वव्यापी नै रहेको छ । सोही हिसाबले सानो वा ठुलो जस्तो सुकै भएको मुलुक होस उसका प्रतिनिधिहरुले दौत्य सम्बन्ध रहेको मुलुकहरुसंग राज्य स्तरमा आफ्नो काम गर्दा सोही मान्यताका साथ अगाडी बढ्नु उसको नैतिक दायित्व र हैसियत रहेको हुन्छ ।
नेपालको सन्दर्भमा यस विषयको उठान गर्दा नेपालको राज्य सत्तामा जानेहरुले यसलाई विगतबाट नै गम्भीर रुपमा नलिई सत्तामा जाने भ¥याङ्ग बनाएको कुरा इतिहासले पुष्टि गरिसकेको विषयको रुपमा नेपाली जनताले प्रष्ट बुझेका छन् । मुलुक संचालन जनताको प्रतिनिधि मार्फत हुने भएको कारणले समयको कालखण्ड सगै शुद्ध मनुवाको साथ पटक पटक विभिन्न राजनितिक दलहरुलाई राज्य संचालनको जिम्मेवारी नेपाली जनताले दिदै गए पनि ती दल र दलका नेताहरु राष्ट्र र राष्ट्रियताको अडान भन्दा पनि आफ्नो स्वार्थ र समर्थनको लागि बिदेशी, खासगरी भारतको चाकरीलाई निरन्तरता दिदै सबैले आ–आफ्नो शासन कालमा भारतलाई खुशी पार्ने क्रममा मुलुकको अस्मितालाई नै दान र भेटीको स्वरुप बली चढाउने काम गरेको छर्लङ्ग नै छ ।
तर बिगतमा दोस्रो महा भुकम्पको कहरको बेला भारतीय नाकाबन्दीको डटेर सामना गर्ने तत्कालीन र हाल पदमा बहाल प्रधानमंत्री श्री के.पी.शर्मा ओली नै रहेकोले थोरै रुपमा भए पनि भिन्न मान्यताका साथ भारतसंग प्रस्तुती भएको कुरा पनि आम नेपाली जनताले बुझेको र सोही बुझाईको आधारमा आम निर्वाचनमा भावी प्रधानमंत्री के.पी.शर्मा ओली नै हुने निश्चित आशयमा पार्टीलाई मतदान गरेको कुरा पनि कसैबाट लुकेको छैन । तथापी, नेपाली जनताले आशाको केन्द्र बिन्दुको रुपमा लिएको व्यक्तिबाट पनि हालमा आन्तरिक राज्य संचालनमा केही कमीकमजोरी भएकै हो यसमा कुनै लुकेको कुरा छैन । यस्तो कमी कमजोरीलाई आन्तरिक रुपमा सच्चयाइनु पर्र्छ नै ।
विगतमा नेपालको भुमी नवलपरासीको सुस्ता लगायतको अतिक्रमनको सवाल होस वा टनकपुरबाँधको यी सबै घट्नाहरुमा सारा नेपाली जनताहरुले बिरोध रहँदा रहँदै पनि समस्या समाधान तर्फ उन्मुुख हुनको सटा भारतको हितमा राज्य संचालनको बागडोर सम्हालेकाले गर्दै आएको विषय हो । पुनः अहिले आएर लिम्पियाधुरा, कालापानी र लिपुलेकको बहस राजनितिक सतहमा आएको छ । जनता आन्दोलित भई रहेको अवस्था छ । बिभिन्न राजनितिक घट्नाक्रममा यस देशको युवाहरुले भारतीय विस्तारबादको बिरुद्ध आन्दोलनमा हिंडेको हामीले देखेकै छौं । तर, तिनै युवाहरुको मातृ पार्टी सत्तामा गए पछि पार्टीका नेताहरुबाट ती स्वरहरु हराएको देख्दा बिचारमा खारिएका देशभक्त युवाहरुको भावनामा अति नै चोट पुगेको अवस्था एकातिर छ भने अर्को तर्फ आश मरी सकेकोे छैन ।
अहिले नेपाली जनता मात्र होइन विश्व नै कोरोनारुपी महामारीसंग लडीरहेको समयमा भारत द्वारा चीनसंग व्यापारिक परियोजनको निमित नेपालको पश्चिमी भुमी लिम्पियाधुरा, कालापानी र लिपुलेकमा सड्क निर्माण गरी उद्घाटन गरी सक्दा पनि आफुलाई सूचना नरहेको कुरा सरोकारबाला विभागीय मंत्रीहरु र प्रधानमंत्रीबाट बाहिर आउनुु लजास्पद विषय बाहेक केही हुन सक्दैन । यसलाई नेपाली जनताले यो बलियो सरकार पनि समस्याबाट भाग्न खोजेको हो कि जस्तो चिन्ता भाव प्रतित हुन थालेको छ । तथापी मिती २०७७÷०१÷३१ गते व्यास गाउँ पालिका वडा नं.१ छाङरु क्षेत्रमा सशत्रको क्याम्प (बिओपी) बोर्डर अब्जरभेसन पोस्ट खडा गरी सकेकोले नेपाली जनतामा सरकार प्रति पुनः आशा पलाएको छ ।
विगतमा राजनितिक तरलता, अस्थिरता तथा कमजोर सरकार रहेको हुनाले सत्ताको अनेकन घृनित खेलमा देशका पुर्व बाहकहरु नालायकीपन देखाएकै हो तर हालको प्रधानमंत्री श्री के.पी.शर्मा ओलीको सरकार विगतको जस्तो कमजोर राजनितिक धरातलमा टेकेर बनेको सरकार होइन ।
देशले पुर्ण भरोसाको साथ शक्ति प्रदान गरेको प्रधानमंत्री भएकोले साहासका साथ अगाडी बढनु उपयुक्त समय देखिन्छ । वर्तमान प्रधानमंत्री के.पी.शर्मा ओलीसंग आम नेपाली जनताको अभिमत छ, राष्ट्रिय अस्मिताको विषयमा सम्पुर्ण राजनितिक दल एक ठाउँमा उभिएको बेला छ । जनता कोरोनाको कारण ज्यान जोखिम हुँदा पनि रोडमा आएर देशको स्वाधिनताको लागि बलिदिनमा उत्रिने अवस्था छ । तर बिडम्बना नै भन्नु पर्छ, राष्ट्रिय स्वाधिनता , सार्वभौमसता र अखण्डताको लागि सरकारलाई सबै किसिमको साथ र समर्थन दिइ रहेएको, नेपाल आमाको चिरहरण हुँदा लाज ढाक्नको लागि सडकमा आएका नेपाली जनतालाई समातेर बिजुलीको झड्का दिने, कुट्ने अभद्र व्यवहार गर्ने, पुलिसको बुट र लाठी बजार्ने निन्दनीय काम जनतामाथी भैरहेको छ। यो सब किरदानी कसलाई खुशीपार्नको लागि हुँदै छ यो अहम् विषय बन्दै गएको छ ।
हाल देशमा राजनितिक रुपमा बलियो सरकार छ अव अर्को निर्वाचनको परिणाम पछि नेपालमा कस्तो सरकार बन्ला यसै भन्न सकिन्न । जनताले भरोसा गरेको वर्तमान प्रधानमंत्रीबाट विशाल आशा गरेका छन्, तपाई फेरी यो देशको प्रधानमंत्री हुने अवस्था पनि छैन, तपाई पार्टीको अध्यक्षमा पनि रही रहने अवस्था विभिन्न कारणहरुले तपाईलाई साथ देला नदेला भन्न सकिन्न । तसर्थ, विगतमा नेपाली राष्ट्रियताको सबालमा रहेका र गरेको कमीकमजोरी हटाउने क्रममा तपाईले थोरै रुपमा काम गरेर देखाउनु भयो तर ती यथेष्ठ थिएन, छैन पनि ।
नेपाल सम्बन्धी जानकार भारतका प्रसिद्ध व्यक्तित्वहरु प्रोफेसर एस डी मुनि लगायतले यस अवस्थामा नेपालमाथी गरिएको अत्याचारको सवालमा नेपालको पक्षमा अभिव्यक्ति दिई रहेको अवस्थामा छ । स्मरण रहोस् हाल नेपालमा दुई तिहाईको सरकार रहेको अवस्था छ । यो जस्तो सबल राजनितिक अवस्था न विगतमा थियो न भविश्यको कल्पना गर्न ठाउँ देखिन्छ । यसै बेलामा नेपाल सरकारको तर्फबाट फलाम तातेकै बेला सम्पुर्ण शक्तिको साथ एकमुष्ठ हिसाब किताव लिने गरी अगाडी बढ्नु उपयुुक्त समय आएको देखिन्छ ।
अब पनि टालटुले बिरोधको नोट लेखेर भारतलाई असहमतिको नोटबाट जानकारी दिने, जागरी पकाउने तरीकाले सरकार चलाउने हो भने इतिहासले श्राप्ने दिन आउने छन् । त्यसैले आम नागरिकको भावना साथमा रहेको बेला भारतसँग बिभिन्न तहमा लगातार कुटनितिक वा अन्य प्रेशराईजेशनको वातावरण निर्माण गरी जनाई आफ्नो गुमेको भुमी फिर्ता गराउनुको विकल्प रहेको छैन । नेपाली जनता यहाँकोे साथमा छ । होइन भने जनताको धैर्यताको बाँध टुट्यो भने त्यसले भयावह रुप लिने जसको क्षति आँकलन गर्न कठिन हुने र भारतसंगको सम्पुर्ण खाले गतिबिधि रोक्नुु पर्ने अवस्था आउन सक्छ ।
उपरोक्त कार्य गरेको खण्डमा नेपालमा एक ऐतिहासिक पुरुषको जन्म मात्र होइन कि नेपाल आमाले चुशाएको दुधको मुल्य तिर्ने छोरो (राजनेता) को जन्म भएको नेपाल र नेपाली जनताले युगौं युग सम्झने मात्र होइन नेपालको इतिहासमा सुनौला अक्षरमा नाम लेखिने छन् । अन्यथा इतिहासको कलंक नै सावित हुने दिन आएको निश्चित छ ।
कुन बाटो राज्ने प्रधानमंत्रीज्यू, यहाँको इच्छा…….। ।।।।……..।
लेखकः त्रिभुभवन विश्वविद्यालय (ग्रामीण विकास) मा विद्याबारिधिको सोधार्थी समेत रहेका छन् ।
Email:[email protected]
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]