मालती कैनी
विद्यावारीधी (ग्रामीण विकास) शोधकर्ता, त्रिभुवन विश्वविद्यालय
काठमाडौं, नेपाल ।
संसारभरी कोरोना (कोभिड – १९) ले नराम्रो रुप देखाइरहेको छ । धेरै मुलुकहरु यसबाट ग्रसित छन् । नेपालमा पनि यो माहामारीले नराम्रो स्थिति देखाइरहेको छ । नेपालमा हाल सम्म देखिएका संक्रमित र संक्रमितको मृत्युले धेरै बिक्षिप्त बनाएको छ ।
यहि महामारी कै कारण हरेक दिन नेपालीहरु भारतबाट र अन्य राष्ट्रहरुबाट फर्किरहेकाछन् । कोही फेरी समय मिल्नासाथ फर्किने तयारीमा छन् । त्यो मात्र होइन नेपाल भित्रै विशेषतः शहरमा बसेका व्यक्तिहरु आफ्नो सुन्दर गाँउठाउँमा फर्किएका छन् । आफ्नो स्थानमा बसिरहेकाहरु र यी फर्किएर आएकाहरुमा अलि कहि कतै मानसिक विचलन आइपरेको वा देखिएको छ ।
कतिपय ठाउँहरुमा, धेरै ग्रामीण भेगहरुमा खेती किसानीको कामलाई निरन्तरता दिने कार्य भईरहेको छ । कुनै कुनै क्षेत्रहरुमा उत्पादित जगेडा कृषि उत्पादनहरुलाई बजारीकरणको समस्या देखा परेको छ । अथवा बजारसम्म पुर्याउन गाह्रो भइरहेको छ । तर पनि सबै जना आ–आफ्नो सोचमा कृषि कार्य गरौ भनी अगाडी बढिरहनु भएको छ ।
यसै क्रममा भर्खरै नेपाल सरकारले “निति तथा कार्यक्रम २०७७÷७८” प्रस्तुत गरेको छ । जसमा स्वास्थ्य, शिक्षा, रोजगारी, कृषिलाई बढी प्राथमिकता दिइएको छ । स्वस्थ्यमा अघि उल्लेख गरेकै महामारी कोरोनालाई निर्मुल गर्ने कार्य अगाडी बढाउने कार्यक्रम प्रस्तुत भएको छ । विमानस्थलमा हेल्थ डेस्क, सिमा क्षेत्रमा कोरोना चेकपोण्ट, प्रत्येक प्रदेशमा ५०० शैयाको अस्पताल स्थापना गर्ने कार्यक्रम राखिएका छन् ।
यस्तो कार्यक्रम थाहा हुन सबै व्यक्तिहरु शिक्षित हुनुपर्दछ । केन्द्रीय तथ्यांङ्क बिभाग २०१८ का अनुसार नेपालमा साक्षरता दर अहिलेसम्म ६५.९% छ । नेपाललाई यो माहामारीबाट उम्क्याउन र झन् बढी राम्रो काम गर्न शिक्षा महत्वपुर्ण हो भन्ने देखिएको छ । त्यसैले सबै प्रदेशहरुमा २ लाख ७० हजार बालबालिकाहरुलाई यहि एक बर्ष भित्रमा बिद्यालय भर्ना गरिन्छ भन्ने कुरा “निति तथा कार्यक्रम २०७७÷७८” ले जनाएको छ ।
नेपालको अहिलेको अर्थतन्त्र लकडाउनले गर्दा मन्द भएको छ । सबै यहाँका नेपाली र बिदेशबाट फर्किएका केही नेपालीहरुले कृषि क्षेत्रमै कार्य गर्न शुरु गरेका छन् । यहि बैशाख २६ गतेबाट ४२ वटा उद्योगहरु पनि संचालन भएका छन् र ती मध्ये केहि कृषिजन्य उद्योगहरु छन् । देशमा यस्तो अवस्था लामो समयसम्म रह्यो भने माहामारी भन्दा पनि भोकमरी झन् डरलाग्दो हुने छ । तसर्थ कृषि कार्य झन् अगाडी बढाउन आवश्यक छ । परिश्रम बढि परेपनि कृषि कार्य सबैले गर्न सक्दछन् र धेर थोर जमिन प्राय सबैको छ । लगानी पनि धेरै लाग्दैन । उच्च मुल्यका वालीहरुको खेतीले आम्दानी पनि बढी दिन्छ । तरकारी तथा फलफुल खेतीले पोषण सुरक्षा पनि हुन्छ ।
पौराणिक कृषिलाई आधुनिक र व्यवसायिकरण गरिनुपर्छ । जसबाट बढि नेपालीहरुले रोजगारी प्राप्त गर्दछन् । खाली रहेको जमिनमा कृषि बिउ–बेर्नाहरु लगाइनुपर्छ । जग्गा नहुनेले जग्गा भाडामा लिई खेती गर्न सक्दछन् र यसको लागी सरकारले उचित वातावरण सृजना गर्नु पर्दछ ।
यी कुराहरु बिदेशबाट देश फर्किएका र शहरबाट आफ्नै सुन्दर गाँउघर फर्किएका, अनी आ–आफ्नै घरमा अरु काम नगरेकाहरु, साथै जसले कृषि कार्य गर्छु भनि जागरुकता साथ अगाडि बढेका हरुको लागि राम्रो कार्य हो । यसरी खेतीपातीमा लाग्दा मानसिक विचलन हराउँछ र नेपालको अर्थतन्त्रमा परेको अफ्ठेरोलाई हटाई माथि पुर्याउन सहयोग पनि गर्छ ।
यसरी नै मिलेर आफ्नै भुमिमा काम गरी राम्रो आर्थिक स्थिति निर्माण गर्न सकिन्छ । हामीलाई यो माहामारीले यही पाठ सिकाएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]