बिप्लवी तेन्जु योन्जन
हाल : रेगिस्तान
प्रेम जीवन हो । प्रेम जिउने आधार हो । प्रेम बिना जिन्दगी चलाउनु असम्भव हुन्छ तर प्रेम भन्ने अर्थको परिभाषा बुझ्नु जरुरी छ । फरक फरक तरिका बाट गरिने प्रेम त प्रेम नै हो। मानवताले गरिने माया स्नेह नै प्रेम हो। कुनै दिन बिडम्बना प्रेम उल्टो साबित हुन्छ जब धर्तीमा आमाको गर्बबाट जन्मिएर मानवको परिचय पाउछ तब मानिसहरूले माया प्रेम स्नेह आफ्नो आमा बाबा बाट प्रेम सुरु हुन्छ।
अनि बलक देखि उमेरको अनुपातमा माया प्रेम परिबर्तन हुँदै जानेछ ।जवानी हुदा प्रेम प्रेमिका बिच प्रेम हुनेछ । कुनै प्रेम स्वीकार हुन्छ त कुनै अस्वीकार । अस्विकार गरे पछि कुनै प्रेमी प्रेमिकाले मृत्यु रोजेका कयौ घटना देखेका छौं ।एक अर्कामा पिरती लगाउने कुरा गर्छन् । धर्तीमा फूल बनेर मीठो सुवास छर्न खोज्दा बासना बिहिन हुनु , कन्चन बग्ने खोली बनेर बस्न खोज्दा खोलामा पानी नै सुकि बगर हुन पुग्नु दुर्भाग्य उनीहरूको दु:खेसो गरेको पाइन्छ । मान्छे र मान्छेहरूको छाया झुटो भएको र आफ्नो मूल हराएको, धुन हराएको, दु:ख सुनिदिने दैव पनि नभएको उनीहरूको गुनासो हुन्छ । अनि फेरि उनीहरू तार चुटिएको गितार , औलिएको फुल उस्ता भन्ने कुरा गर्छन् । धर्ती छाडेर जाने कुरा गर्छन।
हो, आज नवराज विक भाईले पनि बाध्यता भित्रको कुसंस्कार पर्खाल भत्काउन नस्क्दा प्रेमलाई आफ्नो ज्यान बलि दिन पुगेको छ । हिजो सगै मर्ने सगै बाच्ने कसम खाएका उनी आफ्नो प्रेमिकालाई धर्तीमै छाडेर सन्सारबाट बसाइ सरेर गएका छ। उनको प्रेमिका सग नया सन्सार बसाउने सपना आखिर सपना मै सिमित भएको छ । उनले आर्यघाटतर्फको यात्रा एक्लै गरेका छन् । शायद गाउँ छाडेर जाने अन्य दाजुभाइजस्तै आफ्नो मनको मायालु, मुटुको टुक्रालाई सँगै लिएर जाने उनको संकल्पमा यतिखेर पूर्णबिराम लागेको छ । हार्दिक बधाइ भन्न तयार परेका उनका साथीहरू पिडामा मारमाहित हुँदै हार्दिक श्रद्धाञ्जली भन्न बाध्य छन्, ।
हिजो सम्म स्वर्ग जस्तो उसको घर आगन आज समासान घाट झै भएको छ बुहारी नानीको हातको तातोपानी पिउने आशा बोकि सेताम्मै केस फुलेकी नवराजकी आमाको शरीर तातो आँसुमा डुब्नु बिबस छिन ।
मुना मदनको प्रेम कथा लेखिएजस्तै अब नवराज विक र उच्च जातकी भनिएकी उनकी प्रेमिकाको प्रेम कथा लेखिनुपर्छ । माया त आखिर माया हो । मुनाको होस् कि मदनको, नवराजको होस् कि माथिल्लो जात भनिने ठकुरीको छोरीको । हो, माया त आखिर माया हो । माया मात्र हैन, रगत रातो हो । आफू बाच्नको लागि फेर्ने श्वास ,एउटै हो ।
हावा अक्सिजन हो। मुटु उस्तै हो, आँखा उस्तै सबै उस्तै हो । फरक यही हो, यो एकल प्रणाली सस्कार कुरिती अन्धबिश्वास , आस्था बिश्वास, निजसोच बिचार ,निर्दयी समाज अनि यही समाजले स्थापित गरेका कथित उचनिचका मान्यताहरू धनी गरिबको पर्खाल । आफ्नो प्रेमको जित र हारका लागि अझै कति जवानको बाजी थाप्नु पर्ने हो, किनकी यहाँ ज्यानकै बाजी थापेर पनि एउटा प्रेम हारेको छ । जुठो भएकोछ अधुरो भएको छ । प्रेममा धोका भएको छ।कथा सुन्दा हृदय भाडिन्छ मनस्थिति थिर रहदैन ।हृदय बिदारक घट्ना हुनु भन्दा अगाबै प्रिय नवराज विक भाइ, तिमीले नेपाल प्रहरीको सिपाहीमा नाम निकालेका थियौ रे । तालिम गर्न बाँकी थियो रे । तिमीले पनि आफ्नो प्रेमिकासँग रमाउने सपना देखेका थियौ, तर धर्तीका मानिसहरूले तिमीहरूको प्रेमलीला रुचाएनन्, सहेनन्।त्यसैले म आफू भित्र आफै आत्मा ग्लानी गरिरहेछु ।
त्यसैले मलाई २१औं शताब्दीको सभ्य मानव हुँ भन्नलाई घृणा लाग्छ । तिम्रो त्यस्तो बरबरता पुर्ण हत्याको खवर सुन्दा म आफुलाई म बाँचेको यो समय, हाम्रो सभ्यता , समनता हक अधिकार , मानव अधिकार भित्रको आन्दोलन, हाम्रो सबै-सबैसँग घृणा लाग्छ किन कि जब गणतन्त्रको आगमन पश्चात् सचेत समाजको परिकल्पना अनि वकालतहरू सुन्दै आई रहेका छौ ।
यो समाज , कुसंस्कारले जगडिएको सस्कार भित्र यस्तो पनि हुन्छ, तिमीलाई र तिम्रो प्रेमलाई सम्झँदा डर लाग्छ, किनकी तिमी धर्तीमा पनि रमाउन सकेनौ । अनि आफ्नै प्रेमिकालाई दुलही बनाएर आफ्नो छुट्टै सन्सारमा पुग्न सकेनौ ।
तिमीले पनि सोचेका थियौ होला एउटा सुन्दर संसारमा रमाउने प्रयास जसरी उच्च जात भनिनेका छोराहरू रमाइरहेका थिए । तिमीले सोचेका थियौ होला यो समाजको निरन्तरतालाई क्रमभंग गर्ने र क्रान्तिकारीभएर समाज परिवर्तन गरेर आफ्नो पहिचान सहित बाँच्ने। तिमीले पनि सोचेका थियौ होला, चोखो प्रेमको निम्ती कसैसँग नडराउने, नझुक्ने । तर त्यस्तो हुन सकेन । जसरी तिम्रा बाउबाजेहरू झुक्दै आएका थिए । ती सत्य थिए तर झुठो हुँदै आएका थिए । जसरी तिम्रा बाउ बाजेहरूले अन्याय वा अत्याचार सहजै स्विकार्दै आएका थिए । त्यसरी नै तिमीले झुक्न किन जानिनौ ?
सायद हुन सक्छ तिमिले सोच्न सक्छौ मुलुक धर्म निरिपेक्ष घोषणा गरिएको एक दसक भै सक्यो । देशमा गणतन्त्रको उदयमान भएको छ । समनताको हक अधिकार संविधानको दफा उप दफामा लेखिएको छ भन्दा त्यही कुरामा ढुक्क भयौ तर यो अन्धबिसवासले जगडिएको समाज परिवर्तन हुनै सकेको थिएन ।
यो समाजमा तिमीले छोएका हरेका कुराहरू जुठो हुन्थ्यो । तिमीले पानी छोए पानी जुठो हुन्थ्यो, तिमीले भगवानको मूर्ति भगवान अछुतो हुन्थ्यो, तिमीले मान्छे छोए मान्छे नै जुठो हुन्थ्यो र छर्किनुपर्थ्यो बूढी बज्यैको फोहोरी नाकको सुनपानी । तिमीले त मान्छे नै छोयौ अनि कसरी चोखो हुन्छ तिम्रो प्रेम ? कसरी सर्वस्वीकार्य हुन्छ तिम्रो मुटुको हरेक धड्कनका आवाजहरू । यो विभेदकारी समाजमा तिम्रो चोखो प्रेम अछुत हुन्थ्यो नै । शायद तिमीले आफ्नो प्रेममा सुनपानी छर्किन सकेनौ कि ?
हिजो पँधेरीमा अरूको पानी छोइदिँदा मारियौ । हिजो मठ मन्दिर पस्न खोज्दा गाउँ निकाला भयौ । हिजो स्कूलको कक्षामा झुक्किएर ठूलो जात भनाउदाको छोराको टिफिन छुँदा तिम्रो कपाल चारपाटा मुडियो । हिजो बिहे घरमा मलखादमा बसेर खान नमान्दा आफ्नै मुखभरी कालोमोसो दल्न बाध्य भयौ र आज कसैलाई चोखो प्रेम गर्दा मारियौ । आखिर कहिलेसम्म चलिरहन्छ, यो विभेदको शृंखला ?
बिभेदकारि संविधान? बिभेदपुर्ण समाज
प्रिय नवराज भाइ, आज यति नै भन्न सक्छु, तिमीलाई फूल बर्साउन नसकेर धूवाँ बर्साउने ती मान्छेहरूले पनि एकदिन चिहानघाटमा पुग्नै पर्छ । उनीहरूलाई कानूनले छाडेपनि, यो समाजले तिमीलाई नै दोष दिएर ती आक्रमणकारीहरूलाई सदा जस्तै सुनपानीले चोख्याए पनि एकदिन तिमी र मैले नदेखेको भगवानले सजाय दिने नै छ । तिमी पुगेको स्वर्गबाट पनि यी दुष्टहरूका लागि केही न केही प्रार्थना त गर्नु नै पर्छ ।हामी यही कामना गर्छौं तिम्रो चोखो प्रेम जसरी जुठो प्रेममा बदलिएको छ, यसको मूल्य इतिहासले चुकाउनुपर्ने नै छ ।
आखिर किन यस्तो हुन्छ?
धेरैलाई थाहा भएर पनि थाहा नभए जस्तो गरेको यो अन्यायपूर्ण आक्रमण आफ्नो प्रेमिकालाई दुलही बनाएर लिन जाँदा जाजरकोटको भेरी नगरपालिका– ४, रानागाउँका २० वर्षीय नवराज विक गाउँलेहरूको आक्रमणमा परेर मारिएका छन् । पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८, सोतीकी मल्ल थरकी १७ वर्षीया युवतीसँग उनको ३ वर्षदेखि प्रेम सम्बन्ध रहेछ । दलित समुदायका नवराज र ठकुरी समुदायकी ती युवतीको ‘जात’ नमिलेपनि उनीहरू विवाह बन्धनमा बाँधिन चाहन्थे, त्यसैले नवराज शनिवार राति आफ्ना साथीहरूलाई लिएर दुलही ल्याउन चौरजहारी गए ।
काटे रगत सबैको रातो नै हुन्छ। जात एक व्यवस्था थियो, त्यो हट्यो । तर समाजबाट भने अझै पनि हट्न सकेन। नवराजले न घरमा दुलही ल्याए, न त आफू नै घर फर्किए । केटीतिरका मान्छेहरूको आक्रमणमा परेर उनको ज्यान गुम्यो । उनलाई साथ दिनका लागि सँगै गएका चौरजहारीका टीकाराम सुनार र रानागाउँका गणेश बुढा मगरको पनि मृत्यु भयो । अन्य ३ जना सन्दीप विक, लोकेन्द्र सुनार र गोविन्द शाही अहिले पनि बेपत्ता छन् ।
विगतमा दलित समुदायका मानिसहरूलाई सार्वजनिक पार्टीपौवा, धारापँधेरा, मठमन्दिरलगायतका स्थानमा प्रवेश गर्न पाउँदैन थिए । प्रेमको त परै जावस्, अनेक प्रकारका आन्दोलनहरूले समाजमा केही परिवर्तन आयो कि भनिएको हो । केही कुराहरूमा परिवर्तन आयो, तर अझै पनि गाउँशहरमा दलितलाई डुम, अछुतजस्ता संज्ञा दिएर अपमान गर्ने लगायतका कुराहरू हुनाले पनि कथित उपल्लो जात भन्नेहरूको चरम विभेदमा पर्दै आएका छन् । त्यसैको उदाहरण हो यो घटना।
यो भूमिमा दलितहरूको सबैकुरा चल्यो । उनीहरूको आँसु, पसिनाको मूल्य शायद नेपाली समाजले चुकाउन सक्दैन । मन्दिरमा खुकुरी चल्यो तर फूल चलेन । बिहेमा बाजागाजा चल्यो तर भोज चलेन । शरीरको लाज छोप्ने कपडा चल्यो तर घरभित्र पस्ने अनुमति चलेन। मायाप्रेम त झन् चल्दै चलेन। आखिर कहिलेसम्म उनीहरूको आँसु पसिनामाथि खेलबाड भइरहन्छ ? कहिलेसम्म भइरहन्छ, मानिसहरूमाथि मानिसहरूको विभेद ?
नेपालमा जातीय भेदभाव तथा छुवाछुत कसुर र सजाय ऐन, २०६८ लागू गरिसकेको भएतापनि अझैपनि समाजबाट यस्तो प्रथाको अन्त्य हुन सकिरहेको देखिँदैन । उक्त ऐनको दफा ४ को उपदफा २, ३, ४, ५, ६ वा ७ बमोजिमको कसुर गर्ने व्यक्तिलाई एक महिनादेखि एक वर्षसम्म कैद वा पाँच सयदेखि ५० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने व्यवस्था गरिएको छ । तर कसलाई फुर्सद छ नियम कानूनको पाना पल्टाउन । शासक वर्गहरू मानिसहरूमाथि यो वा त्यो बाहनामा विभेद थोपार्न बाध्य छन् ।
जातीय विभेदलाई कानूनी अपराध मानेको भएपनि नेपाली समाजमा अझैसम्म जातीय छुवाछुत हट्न सकेको छैन । २०६३ जेष्ठ २१ छुवाछुतमुक्त राष्ट्र घोषणा र २०६८ मा जातीय भेदभाव तथा छुवाछुत कसूर र सजाए ऐन बनेको थियो । ऐन बनेको ८ वर्ष भइसक्दा पनि विभेदका घटनाहरू बढिरहेका छन् । छुवाछुतमुक्त राष्ट्र घोषणा कागजमा मात्र सीमित देखिन्छ ।
कानून संशोधन हुन नसकेका कारण हरेक दिन विभेदका घटनाहरू बढिरहेका छन् । जातीय भेदभाव तथा छुवाछुत (कसूर र सजाय) ऐन, २०६८ को पहिलो संशोधन, २०७५ मा जातीय भेदभाव तथा छुवाछुत गर्नेलाई कसूरको अवस्थाअनुसार एक महिनादेखि ३ वर्षसम्म कैद र २० हजार रुपैयाँदेखि २ लाख रुपैयाँसम्म जरिवानाका साथै दुई लाखसम्म क्षतिपूर्ति पीडितलाई भराइदिने व्यवस्था गरिएको छ । तर पँधेरो, स्कुल, मन्दिर, अस्पताल, सार्वजनिक सवारी साधन, मेला, समारोह इत्यादि स्थानमा दलित भएकै कारण अपमानित हुनुपर्ने विडम्बना छ ।
समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाज निर्माण गर्ने संकल्प गरिएपनि संविधानमा उल्लेख गरिएका व्यवस्थाको फितलो कार्यान्वयनका कारण दलित समुदाय न्युनतम मानवअधिकारबाट वञ्चित रहन बाध्य छन् । उनीहरू हत्या, बलात्कार, कुटपिट, दमन र अत्याचार, अन्तरजातीय विवाह विभेद आदिजस्ता हिंसाबाट निरन्तर पीडित रहँदै आएको देखिन्छ ।
जातकै कारण गालीगलौजका भाषा, अपशब्द, सुन्नुपर्ने मात्रै होइन, दलितसँग बिहे, प्रेम गर्दा गाउँनिकाला हुनुपर्ने, यातना, हत्या, बहिष्कार सहन बाध्य पारिने स्थिति अन्त्य हुन सकेको छैन । बरु संविधानले सुनिश्चित गरेका कतिपय अधिकारमाथि समेत ऐन, कानून निर्माण गरिँदा कटौती गरिने र दलित समुदायमाथि थप मर्कामा पार्ने जालसाजी भएका हुन् ।
यसैका कारण आज धर्ती बस्न लायक छैन र आज नवराज विकहरू स्वर्गमा जान बाध्य छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]