३१ श्रावण २०७७–काठमाण्डौ । यो वर्षको मनसुन जेठ अन्तिममा सुरु भएयता शुक्रबारसम्म सिन्धुपाल्चोकमा पहिरोका १८ वटा घटना भएका छन् तर जुगल गाउँपालिका–२ लिदी (साविकको गोल्चे गाविस–१) मा शुक्रबार बिहान गएको पहिरोलाई भूगर्भविद् र पहिरो अध्ययन गरेकाहरूले अघिल्लाभन्दा फरक किसिमको भनी विश्लेषण गरेका छन् ।
पुल्चोक इन्जिनियरिङ क्याम्पसका अध्यापकसमेत रहेका भूगर्भविद् वसन्तराज अधिकारीका अनुसार सुरुमा खोल्सीले तलतिरबाट माटो खोलेको देखिन्छ र धेरै वर्षा भएपछि मास्तिरको माटो गलेर झ्वाप्पै तलतिर खसेको छ । ‘त्यहाँको भूभागमा भित्रैसम्म पानी पुगेपछि कमजोर बनेको माटो–ढुंगालगायत डेब्रिज एकैपटक तलतिर सोहोरिएको छ,’ उनले भने, ‘तल्लो भागमा पहिरो छेक्ने अरू केही नभएपछि माथिबाट बगेर आएको पहिरो बस्तीमाथि सरर बगेको देखिन्छ ।’ झट्ट हेर्दा पहिरो नजानेजस्तो देखिएकाले त्यस ठाउँमा बाक्लो बस्ती बसेको उनले अनुमान गरे ।
उक्त क्षेत्र २०७२ सालको भूकम्पले समेत हल्लाएको क्षेत्र हो । भूकम्पले थिलथिलो बनाएको भूभागलाई स्थिर हुन धेरै वर्ष लाग्छ । ‘मनसुनअघि त्यो क्षेत्रमा धेरै धाँजा फाटेको हुनुपर्छ । ती धाँजाबाट वर्षात्को पानी भित्र छिरेपछि माटो कमजोर हुन्छ र कालान्तरमा पहिरोको रूप लिन्छ,’ अधिकारीले भने ।
यो वर्षको मनसुनमा भूकम्पले बढी प्रभाव पारेका क्षेत्रमै धेरैजसो पहिरो देखिएका छन् । भूकम्पले अति प्रभावित १४ जिल्लामध्ये पनि सिन्धुपाल्चोकमा यो वर्ष धेरै पहिरो गएको छ । अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले भूकम्पले अति प्रभावित धादिङ, दोलखा, गोरखा, रसुवा र सिन्धुपाल्चोक जिल्लामा अध्ययन गरेर डेढ लाख घर पहिरोको उच्च जोखिममा रहेको करिब ५ वर्षअघि नै निष्कर्ष निकालेको थियो । भूगर्भविद्हरूले त्यस्ता जोखिममा रहेका बस्तीहरूलाई जतिसक्दो चाँडो सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई सुझाएका थिए ।
शुक्रबार पहिरो गएको क्षेत्र जोखिमयुक्त भएकाले स्थानान्तरण गर्नुपर्ने सूचीमा समेटिएको मध्यकै बस्ती हो । जोखिमयुक्त भएकाले जुगल गाउँपालिकाले पनि उक्त बस्तीलाई सुरक्षित स्थानमा सार्न मनसुन सुरु हुनुअघि नै जिल्ला प्रशासन कार्यालयलाई पत्रमार्फत ध्यानाकर्षण गराएको थियो ।
शुक्रवार बिहान घटनास्थलको निरीक्षण गरी फर्किएका अग्निप्रसाद सापकोटाका प्रेस सल्लाहकार श्रीधर न्यौपानेका अनुसार पहिरोको जोखिम बुझेर नै स्थानीय बासिन्दा वर्षा लागेपछि बास बस्न टाढाका सुरक्षित स्थानका गोठ (अस्थायी घर) मा जाने गरेका थिए । ‘बस्ती सार्नुपर्छ भनेर लगातार कुरा उठेको हो,’ न्यौपानेले भने, ‘स्थानीय बासिन्दा भूकम्पपछि जहिल्यै त्रसित थिए ।’ सभामुख सापकोटाले जारी गरेको विज्ञप्तिमा पनि उक्त क्षेत्र भूकम्पपछि जर्जर भएकाले विपद्का घटना दोहोरिरहने उल्लेख गरिएको छ ।
नेपाल भूगोल समाजका अध्यक्षसमेत रहेका भूगोलविद् प्राध्यापक नरेन्द्रराज खनालले लिदीको पहिरोले एकैपटक नभई थोरै थोरै गरेर शुक्रबार बृहत् रूप लिएको हुन सक्ने बताए । ‘त्यहाँ अलिअलि माटो झर्ने र चिरा पर्ने क्रम पहिले नै सुरु भएको हुनुपर्छ, अचानक आएको पहिरो होइन,’ नेपालका ठूला पहिरोबारे अध्ययन गरेका खनालले भने, ‘तस्बिरहरू विश्लेषण गर्दा त्यो क्षेत्र अझै पहिरोको जोखिममा छ, सतर्क हुनुपर्छ ।
खनालका अनुसार पहाडी क्षेत्रमा कहाँ, कहिले र कत्रो पहिरो जान्छ भन्ने कुरा भौगर्भिक बनावट, भिरालोपन, भूकम्पलगायत भौगर्भिक हलचल, खोलाखोल्सीको फैलावट, वर्षाको मात्रा, भूउपयोगको तरिका र विकास निर्माणले निर्धारण गरेको हुन्छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार शुक्रबारसम्म पहिरो, भारी वर्षा, बाढी र अचानक बाढी (फ्ल्यास फ्लड) का गरी ६ सय ७० वटा घटना भएका छन् । त्यसमा परेर २ सय ७ जनाको मृत्यु भएको छ भने ८७ जना बेपत्ता र २ सय बढी घाइते भएका छन् । जेठ ३० मा मनसुन सुरु भएयता ७५ वटा जिल्लामा मनसुनजन्य विपद्का घटना भएका हुन् । कान्तिपुर दैनिकमा अब्दुल्लाह मियाँले खबर लेखेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]