१४ भाद्र २०७७–जुम्ला । यस वर्ष कर्णालीका जुम्ला र मुगुमा स्याउ उत्पादन करिब ५० प्रतिशत घटेको छ । कोरोना प्रकोपको कारण उत्पादित स्याउ पनि बजार पु¥याउन नसकिएको किसानले गुनासो गरेका छन् ।
गत वर्ष १२ हजार मेट्रिक टन स्याउ उत्पादन भएको जुम्लामा यस वर्ष घटेर करिब ५ हजार १ सय मेट्रिक टन फलेको कृषि विकास कार्यालयको अनुमान छ । स्याउ फुल्ने र फल लाग्ने बेला असिना परेपछि उत्पादनमा कमी आएको कार्यालय प्रमुख बालकराम देवकोटाले बताए । उनका अनुसार यो वर्ष उत्तरी क्षेत्रमा मात्रै स्याउ फलेको छ । ‘जुम्ला सबैतिर स्याउ फल्ने जिल्ला भए पनि यस वर्ष चिस्यान बढी भएको ठाउँमा मात्रै फल्यो,’ उनले भने, ‘असिना र तुसारोले स्याउ उत्पादन घटाएको हो ।’
बगैंचामा स्याउ नफल्दा किसान पनि निराश छन् । चन्दननाथ–६ छिनाका किसान धनबहादुर थापाको बगैंचामा गत वर्ष ५ सय बिरुवामा स्याउ फलेको थियो । यो वर्ष भने मुस्किलले ३० वटा बिरुवामा फाट्टफुट्ट स्याउ फलेको उनले जानकारी दिए ।
‘असिनाले मेरो बगैंचाको स्याउ झारिदिएको छ,’ उनले भने, ‘स्याउ नफलेपछि आम्दानी पनि हुने आशा भएन, पेट पाल्नै मुस्किल हुने भयो ।’ मुगुका किसानको पीडा पनि फरक छैन । सडक पुगेपछि व्यावसायिक स्याउ खेतीमा लागेका उनीहरू जीविकोपार्जन कसरी गर्ने भन्ने चिन्तामा छन् । छायानाथरारा नगरपालिका–४ ताल्चाका ८२ वर्षीय गोर्ख रावल पनि स्याउ बगैंचातिर हेरेर निराश हुन थालेका छन् । उनको बारीमा ४ सय बोट स्याउ छन् । तर यस वर्ष पहिलेजस्तो स्याउको दाना लागेन । रावलले गत वर्ष ३ ट्रक स्याउ बाहिर पठाएर ४ लाख रुपैयाँ कमाएका थिए । यो वर्ष भने आम्दानी आधा पनि नहुने उनको गुनासो छ ।
‘अन्नबाली छाडेर सबै जग्गामा स्याउ रोपियो, असिनाले एक दाना पनि स्याउ बाँकी राखेन,’ उनले भने, ‘पहिले त यतिबेला लटरम्म स्याउ फलेका हुन्थे, बोट हेर्दै उदेक लाग्छ ।’ रावल जस्तै छायानाथरारा नगरपालिकाका झन्डै ५ सय किसान समस्यामा परेका छन् । जेठ पहिलो साता परेको असिनाले फुल्दै गरेका स्याउमा क्षति पु¥याएपछि आसपासका क्षेत्रका स्याउ बगैंचा खाली बनेका हुन् ।
ताल्चाकै मायादेवी भामको बगैंचामा स्याउका १ सय ८० बोट छन् । तर ती बोटमा स्याउका दाना छैनन् । ‘छोराछोरी पढाउन र घरखर्च कसरी टार्ने भन्ने समस्या देखियो,’ उनले भनिन्, ‘स्याउका बोट यसअघि यसरी नाङ्गा त कहिल्यै हुन्थेनन् ।’
स्याउ नफलेपछि ताल्चा गाउँका झन्डै २ सय परिवार समस्यामा परेको स्थानीय सुत्त भामले बताए । उनीसहित जगत भाम, हरि रोकाया, बिजुल्ली खत्री र बाँचे महतराका बारीमा झन्डै ५र५ सय स्याउका बोट छन् । सडक पुगेपछि किसानले स्याउ जिल्लाबाहिर पठाउन थालेका थिए । ‘भाउ र बजारको समस्या नभएपछि अन्नबाली छोडेर स्याउखेतीमा लागेका थियौं,’ उनले भने, ‘बारी उजाड भएपछि कसरी घरखर्च चलाउने भन्ने चिन्ता हुन थाल्यो ।’ रोकायाले गत वर्ष २ ट्रक स्याउ सुर्खेत र नेपालगन्ज पठाएका थिए ।
स्याउ नफलेपछि किसान राहतका लागि गुहार गरिरहेका छन् । मुगुका किसानले नगरपालिका र कृषि विकास कार्यालयमा क्षतिपूर्ति माग गर्दै निवेदन दिन थालेका छन् । दाना लाग्ने बेलामा स्याउबारी उजाड बनेको छायानाथरारा नगरपालिका प्रमुख हरिजंग शाहीेले बताए । उनका अनुसार अहिले नगरपालिकाको मइतु, झापार्गाड, माथितुम, झयारीलगायत क्षेत्रमा पनि स्याउका रूख नाङ्गै छन् । जुम्लाका किसान थापाले स्याउका बिरुवाको बिमा गरेकाले त्यसबाट केही राहत पाइने आशा व्यक्त गरे । जुम्लाका किसानले ४० हजार बिरुवाको बिमा गरेका छन् ।
बजार पु¥याउनै सास्ती
कोरोना प्रकोपका कारण उत्पादित स्याउ पनि बजारमा पु¥याउन समस्या छ । उत्पादन घट्दा बजारमा माग र मूल्य बढ्ने भएपछि किसानले राम्ररी नपाक्दै स्याउ टिप्न सुरु गरिसकेका छन् ।
कृषि विकास कार्यालय जुम्लाले भदौ १० गतेभन्दाअघि स्याउ नटिप्न किसानलाई आग्रह गरेको थियो । किसानले भने भदौ नलाग्दै स्याउ टिप्न थालेका छन् ।
कार्यालयले १० गतेपछि मात्रै बिक्रीका लागि अनुमति दिने भएपछि अधिकांश किसानले स्याउ टिपेर संकलन केन्द्रसम्म पु¥याइसकेका छन् । स्याउ व्यापारी भने जुम्ला पुगेका छैनन् । विगतमा यति बेला काठमाडौंसहित देशका विभिन्न सहरबाट व्यापारी जुम्ला पुगिसकेका हुन्थे ।
‘व्यापारीहरू स्याउ खरिद गर्न नपुगे पनि हामीले बगैंचाबाट टिपेर गोदाममा पु¥याइसकेका छौं,’ जुम्ला गुठीचौरका किसान तिलक न्यौपानेले भने, ‘व्यापारीहरू नआएपछि हामीले बाहिर लगेर बेच्ने योजना बनाएका छौं ।’ सबै किसानले बाहिर लगेर बेच्न नसक्ने भएकाले यस वर्ष स्याउको बजारीकरणमा समस्या हुने उनले बताए ।
जुम्ला र मुगुको स्याउको प्रमुख बजार भनेको सुर्खेत, नेपालगन्ज, बुटवल, धनगढी, महेन्द्रनगर, काठमाडौं हुन् । हवाई सेवा सञ्चालनमा नरहेको र कर्णाली राजमार्गसमेत पहिरोका कारण अवरुद्ध भएकाले थप समस्या भएको किसानको भनाइ छ ।
स्याउ निर्यातका लागि अहिलेसम्म कसैलाई पनि अनुमति नदिएको कृषि विकास कार्यालय प्रमुख देवकोटा बताउँछन् । स्थानीय प्रशासनसँग समन्वय गरी आइतबारदेखि बजारमा स्याउ ढुवानी गर्न प्रयास भइरहेको उनको भनाइ छ । ‘स्याउ र तरकारीलाई रोकावट नगर्न हामीले प्रशासनसँग आग्रह गरिरहेका छौं,’ उनले भने, ‘कम्तीमा सुर्खेतसम्म पु¥याउन सकियो भने किसानले धेरै राहत पाउन सक्छन् ।’
जुम्लामा १० हजार हेक्टरमा स्याउ खेती गर्न सकिन्छ । अहिले ३ हजार हेक्टरमा मात्र खेती गरिएको छ । त्यसको पनि आधा भूभागमा लगाइएको स्याउ मात्र फल्न थालेको कृषि विकास कार्यालयको भनाइ छ । कान्तिपुर दैनिकमा एलपी देवकोटा र राजबहादुर शाहीले खबर लेखेका छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]