देश पोष्ट/२५ असोज २०७७–खोटाङ । जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका स्थीत वडा नं. ६ नेर्पामा २०५२ साल तिर सामाजिक सेवा गर्ने उद्देश्यले देउसी भैलो खेलेर स्थापना गरेको बालसेवा समाज नेपाल नेर्पा खोटाङको २१ औं वार्षिक साधारणसभा सम्पन्न भएको खबर प्राप्त भएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजाल संस्थापक अध्यक्ष रहेको उक्त संस्थाले २०५२ साल देखी नै अनबरत रुपमा आन्तरिक तथा डोनर एजेन्सि हरु संगको सहकार्यमा बिभिन्न सामाजिक क्रियाकलापहरु सञ्चालन गरिरहेको बालसेवा समाजकी अध्यक्ष चन्द्रकला भुजेलको भनाई रहेको छ ।
नगरपालिकाका मेयर दिपनारायण रिजालको प्रमुख आतिथ्यमा सञ्चालित बार्षिक साधारण सभाले गत बर्षको बजेट तथा कार्यक्रमको समिक्षा तथा भावी रणनिती प्रस्तुत गरिएको जनाइएको छ ।
साधारण सभाकै अबसरमा सस्तो ब्याजमा कर्जा प्रवाह गरी उद्यमी सिर्जना गर्नमा प्रोत्साहन गर्ने जिल्लाका दुई सहकारीलाई अनुदान प्रदान गरेको छ । बालसेवाले लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थालाई ४ लाख र खोक्चिलिपा साना किसान कृषि सहकारी संस्थालाई २ लाख अनुदान उपलव्ध गराएको हो ।अनुदान वापतको चेक मेयर रिजाल र गैसस महासंघका जिल्ला अध्यक्ष दानबहादुर राईले सहकारीलाई हस्तान्तरण गरेका संस्थाका कार्यकारी निर्देशक युबराज रिजाललले जानकारी गराएका छन् ।
बार्षिक प्रगती प्रतिबेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष चन्द्रकला भुजेलले भनिन् क्रिष्चिएन एड नेपालको अर्थिक सहयोगमा सञ्चालनमा रहेको शसक्तिकरणका लागि महिला संलग्नता र जीविकोपार्जनका लागि उद्यमशिलता (ध्भ् ँभ्भ्ी) परियोजनामार्फत कोभिड–१९ को महामारीमा परेका १ हजार ४४१ परिवारलाई खाद्यान्न तथा सरसफाईका सामग्री वितरण गरिएको, क्वारेन्टाइन व्यवस्थापनका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकालाई ५० सेट मेडिकल बेड, खाद्यान्न र सरसफाईका सामग्री हस्तान्तरण गरिएको जानकारी दिएकी छन् ।
परियोजना अन्तरगत पाँच वटा बहुजल उपयोग प्रणाली आयोजनाबाट १४८ घरधुरी लाभान्वित भएको, अगुवा अनुभवी कृषक तयारीका लागि २६ जना अनुभवी कृषकलाई तालिम दिइएको, दुई वटा प्रशोधन, ब्राण्डिङ र प्याकेजिङ उद्योग स्थापना गरेर मकैको च्याँख्ला, फापरको पिठो, गुन्द्रुक आदिको ग्रेडिङ सुरु गरिएको जानकारी दिइएको छ ।
जिल्लाका १७९ घरधुरीले ४ हजार ६१५ बोट कागती, १ हजार बोट एभोकाडो, १ हजार ८०० बोट सुन्तला, १ हजार ८४० बोट किवीको विरुवा लगाएर व्यवसायिक फलफूल उत्पादन सुरु गरेको, ५० वटा गोठ निर्माण तथा सुधारको कार्य भइरहेको, करिव ९९५ रोपनीमा मकै खेती गर्नका लागि ८५ घरधुरीलाई बीउ वितरण गरिएको, दुई वटा संकलन केन्द्र निर्माण गरिएको, व्यवसायिक तालिम लिएर ४८ जनाले १७ वटा पोखरी निर्माण गरेर माछा पालन र १७ जनाले बंगुर र १५ जनाले बाख्रापालन सुरु गरेको बताएकी छन् । परियोजना अन्तरगत २९ वटा समुह दर्ता गरी कानुनी मान्यता प्रदान गरिएको, परियोजनाको सहयोगमा विभिन्न व्यवसाय गर्ने १५१ जना उद्यमी तयार भएको, १५२ जनालाई मेलमिलाप तालिम प्रदान गरी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका १५ वडामा वडा स्तरीय मेलमिलाप समिति गठन गरिएको, महिला तथा पुरुष समेत गरी २१ जना हिंसा पिडितले जीविकोपार्जन पुःर्नस्थापना सहयोग पाएपछि व्यवसायिक भएको समाजको प्रगती विवरणमा उल्लेख छ ।
हेल्भेटास स्वीस इन्टरकोअपरेशन नेपालको सहयोग तथा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, केपिलासगढी गाउँपालिका र खोटेहाङ गाउँपालिकासँगको सहकार्यमा सञ्चालित सुरक्षित आप्रवासन परियोजना अन्तर्गत ६८ प्रतिशत युवा सीप सिकेर गएको, विदेश गएकामध्ये ७५ प्रतिशतले घरपरिवारलाई कागजातको फोटोकपी छाडेको, ४३ जनाले सीप र तालिम प्राप्त गरेको, वैदेशिक रोजगारको क्रममा मृत्यु र अंगभंग भएका व्यक्तिका ३७ जना वालवच्चालाई छात्रावृत्ति प्राप्त गर्न सहजीकरण गरेको, ३६ वटा केशमा कानूनी सहायताको लागि सहजीकरण गरेको, गन्तव्य मुलुकमा अलपत्र परेका ४ वटा केशमा उद्धार गर्न सहजिकरण गरेको, बैदेशिक रोजगार बोर्ड र बिमा कम्पनीबाट ५ मृतकका परिवारलाई ७ लाख २१ हजार ९०६ क्षतिपुर्ति प्राप्त गर्न सहजीकरण गरेको जानकारी दिइएको छ ।
अध्यक्ष भुजेलले घरेलु तथा साना उद्योग विकास समितिको सहयोगमा गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत निर्वाचन क्षेत्र नम्बर २ मा पर्ने पाँच वटा गाउँपालिकामा लामो, मध्यम र छोटो गरी ३ किसिमका तालिम सञ्चालन गरिएको, दलित, गरीब तथा महिलालाई लक्षित गरी १५३ जना नयाँ उद्यमी सिर्जना गरिएको र १०९ जना उद्यमीलाई स्तरोन्नतीका लागि सहयोग प्रदान गरिएको जानकारी दिएकी छन् । गत आर्थिक वर्ष करीब ३ करोड बराबरको खर्च गरेको समाजले आगामी आर्थिक वर्ष करीब १ करोडको ५० लाखको बजेट प्रस्तुत गरेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]