लक्ष्मण सिटौला
नेपाल सरकारको पुर्ण स्वामित्व र नियन्त्रणमा भएर पनि यो सस्था जुन जुन पार्टीको सरकार बन्यो तिनै तिनै पार्टीका नजीकका मान्छेलाई महाप्रबन्धक बनाउदै वा अध्यक्ष बनाउदै भ्रष्टाचार गर्दै नेवानी सिध्याउने खेल निरन्तर भैरह्यो ।
यतिका धेरै भ्रष्टाचार पन्चायतकालमा कहिले पनि देखिएन । खास गरेर प्रजातन्त्रलाई दुरुपयोग गर्नेहरूले यो सस्थालाइ कमाइ खाने खेत बनाए । २०४३ सालमा दुइटा बोइङ आयो बलिराम सिंहको पालामा । त्यतिबेला भ्रष्टाचारको गन्ध आएन । तर बोइङ किनेको कमिसन यदाकदा बलिराम सिंहको खातामा हरेक बर्ष आइरहन्छ भनेको चै हामीले सुनिएको हो ।
तत्कालिन नेपाली छापाहरुमा बोइङ खरिदमा भ्रष्टाचार भएको भनेर न्युज पनि आएकै हो तर अहिले जस्तो संचालक समिति देखि बिभागिय मन्त्री समेत मिलि भगत गरेर भ्रष्टाचार गर्ने घटना बिरलै हुन्थ्यो । नेपाल वायुसेवा निगमको ६३ बर्षको इतिहासमा गणतन्त्र स्थापना पछि सबैभन्दा भ्रष्टाचारका नयाँ नयाँ इतिहास रचिदै गए । एउटा अचम्मको कुरा चै के रह्यो भने नेपाल सरकारको स्वामित्वमा रहेका धेरै सस्थानहरु कलकारखानाहरु बन्द बनाइए पनि यो सस्था चाहिँ धन्न अहिलेसम्म जिवित छ । जिवित चै यो मानेमा छ कि यस्लाइ जोगाउन सकियो भने भ्रष्टाचार गरिरहन पाइन्छ भन्ने हो ।
अब चै पहिलेको जस्तो अवस्था छैन । स्थिति दिनानुदिन गम्भीर बन्दै गएको छ । अहिले नेपाल वायुसेवा निगमको बित्तीय अवस्था अत्यन्तै नाजुक छ । कोभीडका कारण अन्तर्राष्ट्रिय फ्लाईटहरु ६ महिना बन्द भए । जाहाज उडाएर भन्दा पनि भुमिस्थ सेवा ( ग्राउन्ड ह्यान्डलिङ) गरेर दैनिक एक करोड दस लाख भन्दा बढी आम्दानी गर्ने सस्थाको यो आम्दानी अहिले आएर २० प्रतिशतमा झरेको छ । यो अवस्था हुदाहुदै पनि पर्यटन मन्त्री र अध्यक्ष मिलेर निजि एयरलाइन्स हिमालयलाई सेल्फ ग्राउन्ड ह्यान्डल गर्न पाउने नियम बनाएपछि अब अन्य एयरलाइन्सको भुमिस्थ सेवा पनि हिमालय एयरलाइन्सले हत्याउने प्रबल सम्भावना छ ।
संचयकोष र नागरिक लगानी कोषको पचास अरबको ऋण ब्ययभार कसरी तिर्ने भन्ने कुराले अहिले नेपाल वायुसेवा निगम बित्तीय संकटमा परेको छ । यो बित्तीय संकट कसरी समाधान गर्ने भन्ने कुरामा तालुकदार मन्त्रालय र मन्त्री चिन्तित देखिदैनन । बरु आफ्नालाई महाप्रबन्धक र अध्यक्ष बनाइरहेका छन् मन्त्रीज्यू यतिबेला । सुशील घिमिरेलाइ अध्यक्षका रूपमा ६ महिना अघि नियुक्ति गरेका मन्त्रीले फेरी नेवानीमा अर्को पद खडा गरेर महाप्रबन्धक किन नियुक्ति गरेको हो ? अवकाश प्राप्त कर्मचारीले पाउन पर्ने सुबिधा पाउन नसकिरहेको अवस्थामा फेरि किन महाप्रबन्धक नियुक्ति गरेको ? के अहिले महाप्रबन्धक नियुक्ति गर्नु जरुरी थियो र ? अहिले महाप्रबन्धक नियुक्ति गर्नासाथ नेवानीले आमूल परिवर्तन गर्न सक्छ र? यो नियुक्तिले झन खर्च माथी खर्च थपिदिएको छ । अहिलेको अवस्थामा मितब्ययिता अपनाउनुपर्नेमा मन्त्री स्वयंले झन खर्च थप्ने काम गर्दै हुनुहुन्छ ।
मितब्ययिताका नाउँमा कर्मचारीका सुबिधा सबै काट्दै जाने अर्कोतिर माथिल्लो तहमा नयाँ नियुक्ति दिदै जाने हो भने नेवानीको स्थिति झन नाजुक होस भनेर चाहनु हो । एक संस्थामा महाप्रबन्धक र चियरमेन नियुक्ति गर्दा मात्रै यस्को उन्नति हुने थियो भने खै त पर्यटन सचीव भएर त्यति लामो अनुभव बटुलेका अहिलेका अध्यक्षले नेवानीमा ७ महिनामा एउटा मात्रै कुनै उदाहरण लिन सक्ने काम गरे त ? अनि फेरि महाप्रबन्धक किन नियुक्ति गरेको ?
नेपाल सरकारले लकडाउनको बेलामा कुनै पनि कर्मचारीलाई जागीरबाट नहटाउनु भनेर घोषणा गर्दागर्दै पनि करारमा रहेका निर्दोष १४५ कर्मचारीलाई छानीछानी सेवाबाट हटाइयो । त्यी १४५ जनाले जति तलब थाप्छन त्यो भन्दा धेरै अहिले नियुक्ति पाएका महाप्रबन्धक र अध्यक्ष सुशील घिमिरेले नै खालान । यो देशमा किन मजदुर अवस्थामा बाचेकालाइ मात्रै अन्याएको आगोमा झोसिन्छ हँ ? के यही हो सर्वहारा बर्गको प्रतिनिधित्व गर्ने भनेको सरकारको यो रवैया ? यहाँ चार्टर्ड फ्लाईटमा ठुला तहका कर्मचारीले ब्रह्मलुट गरेको कसैले देख्दैन तर पसिना पोखेर महिनामा दस हजार तलब थाप्ने कर्मचारीलाइ घरवारविहीन बनाइन्छ किन ?
कोभीडको बेलामा सामान्य होटेलका कर्मचारीलाई त आधा तलब दिएर भए पनि नोकरी खोस्ने काम भएको छैन त्यस्तै कलकारखाना र अन्य उद्योगमा पनि कतै कर्मचारीको जागिर खोसिएको छैन । तर नेपाल वायुसेवा निगमको संचालक समितीले निर्दोष १४५ जना कर्मचारीको जागीर खाइदियो ।
यो भन्दा अगाडिको अकंमा मैले जहाज खरिदमा हुने अनियमितता ,अन्तर्राष्ट्रिय प्रक्रिया र हवाई एजेन्सीको बारेमा प्रकाश पारेको थिए । आजको यो लेखमा तल उल्लेख्य बुदाहरुमा क्रमशः आफ्ना भनाइहरु राख्दै जानेछु ।
.१.ग्राउन्ड ह्यान्डलिङ इकुपमेन्ट पर्चेज प्रक्रियामा भ्रष्टाचार
२. टिकट बिक्रीवितरणमा भ्रष्टाचार ( लोकल र अन्तर्राष्ट्रिय
ट्राभल एजेन्सीसग मिलेर गर्ने आर्थिक चलखेल )
३. क्रुहरुको लागि आवास ( होटेल सम्झौतामा) भ्रष्टाचार
४.फ्लाईट क्याटरिङ्का लागि चाहिने बार्शिक सामान ( टेन्डरमा
प्रक्रियामा नै भ्रष्टाचार )
५.जाहाज मर्मत सम्भारका लागि बिदेश स्थित मेन्टेनेन्स कम्पनी
हरुसग मिलेर गरिने अदृश्य तर ब्यापक भ्रष्टाचार
६. इन्जिनियरिङ ए ओ जि ( एयरक्राफ्ट अन ग्राउन्डेड ) भ्रष्टाचार
७. इन्जिनियरिङ मेन्टेनेन्स तथा पार्टस रिपेरिङमा हुने भ्रष्टाचार
८.खरिद बिभागबाट गाडी देखि सारी सम्ममा हुने भ्रष्टाचार
९.भवन निर्माण, मर्मत, दैनिकी स्टेशनरि सामान खरिद र
पुराना गाडी पुराना सामान अक्सनमा भैरहेका भ्रष्टाचार
१०. आन्तरिक उडानमा निजि एयरलाइन्सगको घातक
साठगाठ मिलिभगत
११. ग्राउन्डेड भएका आन्तरिक उडानका जाहाज ( टिवन अटर )
समयमा रिपेरिङ्ग नगरी ग्राउन्डेड गर्दामा समेत भ्रष्टाचार
१२. यति एयरलाइन्सलाइ दिएको दुइटा टुइन अटर जहाजमा
भएको भ्रष्टाचार
१३. डलर सेक्टर( लुक्ला सोलुमा) हुने भ्रष्टाचार
१४. ब्यापारीक क्षेत्र हङकङ बैंकक दुवइ आदि लोड फ्याक्टरमा
हुने भ्रष्टाचार ।
१५. एक्सेस ब्यागेजमा कर्मचारीहरुबाट हुने भ्रष्टाचार
१६. एयरपोर्ट स्थित काउन्टरबाट हुने नियमित भ्रष्टाचार
१. .ग्राउन्ड ह्यान्डलिङ इकुपमेन्ट पर्चेज प्रक्रियामा हुने भ्रष्टाचार
हालसालै एयरबस ३३० को प्रयोजनका लागि भनेर ग्राउन्ड इक्युपमेन्ट बिभागबाट ८ वटा डलि खरिद भएको छ । उक्त डलि खरिद प्रक्रियामा अन्तर्राष्ट्रिय बजार मुल्य भन्दा ३ करोड बढि मुल्य लागेको भन्ने कुरा सुनिएको छ । ती ८ वटा कार्गो र लगेज डलिहरु खरिदका लागि पक्कै पनि अन्तर्राष्ट्रिय कोटेसन आह्वान गरेरै किनिएको होला । तर ३ करोड चै कसरी भ्रष्टाचार भएको हो त्यस्को छानबिन पक्कै होला संबंधित निकायबाट । जाहाजको कार्गो र ब्यागेज कम्पार्ट होलमा ती डलिहरुमा सामान राखेर उडान भरिन्छ । सुनिन्छ ती ८ वटा डलि आयात गर्दा यातायात ब्यावस्थापनमा खर्च भएको भनेर तर यो कुरा साबित गर्न त्यति सहज छैन ।
ग्राउन्ड इक्युपमेन्ट एउटा त्यस्तो बिभाग हो जहाँ जाहाज ह्यान्डलिङका (भुमिस्थ) सेवाको लागि चाहिने प्रायः सबै सामान खरिद गरिन्छ । पुस ब्याक , डलि, ट्रलि ,यात्रु बस, स्टाटर, जनरेटर , जाहाजमा यात्रु चढाउने भर्याङ,जाहाज टो गर्ने इक्युपमेन्ट, टुवाइलेट कार्ट, देखि जाहाजलाई ग्राउन्डेड हुदा र उड्नु अघि आवश्यक पर्ने सबै सुबिधा दिनुपर्ने सबै संबंधित इक्युपमेन्टहरु यहि बिभागबाट नै खरिद हुन्छ । यो बिभागबाट बेलाबेलामा हुने खरिद प्रक्रियालाई मात्रै समय समयमा निगरानी राख्ने हो र नियमन राख्ने हो भने नेपाल एयरलाइन्स भित्र सदियौ देखि इक्युपमेन्ट पर्चेजमा हुँदै आएको व्यापक भ्रष्टाचारमा अवस्य कमि आउने थियो ।
नेपाल स्थित ईन्डियन एयरलाइन्सले आफ्नै देशमा बनेको टाटा कम्पनीले बनाएको टाटा बस प्रयोग गर्छ आफ्ना यात्रु ओसारपसार गर्नलाइ तर हामीले चै एउटै बसको पाँच करोडको मूल्य तिरेर ल्याउछौ । जुन देशमा एउटा सियो बन्दैन त्यही देशको एयर्पोटमा यात्रु ओसार्न नेपाल वायुसेवा निगमले ५ करोडको लक्जरियस बस प्रयोग गर्छ । जति महङ्गोको सामान खरिद गर्यो त्यति धेरै कमिसन आउने भएकोले यो दुनियाँमा कहाँ महँगो इक्युपमेन्ट छ त्यही पुग्छ नेवानी कमाउ बिभागका टोलि । नेपाल एयरलाइन्सको कमाउ बभिाग भनेको ग्राउन्ड इक्युपमेन्ट बिभाग नै हो भनेर भन्दा अतिसयोक्ती नहोला ।
संबंधित बिभागीय प्रमुख उपप्रमुख देखि महाप्रबन्धक सम्मको मिलोमतोमा हुन्छ त्याहाँ भ्रष्टाचार । नेपाल एयरलाइन्स भित्र हुने कुनै पनि भ्रष्टाचारमा बिभागीय प्रमुख उपप्रमुख त्यसैलाइनका अन्य ब्यक्तिहरुको सम्लगनता हुने गर्दछ । जर्मनबाट बस खरिद गर्न लागियो भने थुप्रै कर्मचारीहरु लगातार लाइन लागेर भ्रमणमा जाने गरिन्छ । चाकरीका भरमा भ्रमणमा जाने परम्पराले एउटा लामो कालखण्ड ब्यतित भएको छ नेपाल एयरलाइन्स भित्र । यसै परम्पराका कारण पनि हो नेपाल एयरलाइन्स आज यो दुरावस्थामा पुगेको ।
इक्युपमेन्ट पर्चेजमा हुने भ्रष्टाचारका बारेमा बाहिर मिडियामा आउदैनन किनकि यो बारेमा नेपालका पत्रकारहरु प्रायः अनभिज्ञ छन । उनीहरू केवल जाहाज खरिदमा हुने भ्रष्टाचारका बारेमा मात्रै लेख्छन् । यो बिषय थाहा नभएर पनि होला । एक करोडको इक्युपमेन्ट खरिद गर्दा अर्को ५० लाख थप भ्रष्टाचार हुन्छ सबैको मिलिभगतमा ।
कर्मचारीले पनि यस्ता भित्र भित्र भैरहेको भ्रष्टाचारको बारेमा बोल्न सक्दैनन् किनकि एउटा सामान्य कर्मचारी आफै थिचिएको हुन्छ फेरि बिचरो उस्लाइ प्रमोशनको लोभ हुन्छ , पोस्टिङको लोभ हुन्छ, कहिलेकाही यसो अन्तर्राष्ट्रिय ड्युटीको पनि लोभ हुन्छ । एउटा प्रमोशनले एउटा पोस्टिङ्ले र बेलाबेलामा पाइने अन्तर्राष्ट्रिय भ्रमणले सारा कर्मचारीहरु बाध्यताले चुपचाप बस्न बिवस छन् र यो पनि एउटा अर्को कारण हो नेवानीले युगानुकुल आफुलाइ परिवर्तन गर्न नसकेको र झन झन रुग्ण हुँदै गएको । क्रमशः
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]