देशपाेष्ट । भारतीय नागरिकलाई नेपाली नागरिकता दिलाउन सिफारिस दिने कैलाली धनगढी उपमहानगरपालिका वडानम्बर १२ का अध्यक्ष गणेशप्रसाद जोशी २५ हजार धरौटीमा रिहा भएका हुन् । जिल्ला अदालत कैलालीमा भएको थुनछेक बहसपछि वडाध्यक्ष जोशी २५ हजार धरौटी बुझाएर रिहा भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतिक बिष्टले जानकारी दिए ।
२०७५ साल फागुन २० गते भारतीय नागरिक अलियास अन्सारीलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेका भन्दै प्रहरीले उनलाई बिहिबार पक्राउ गरेको थियो ।उनीसँगै पक्राउ परेका भारतीय नागरिक अन्सारीलाई कारागार चलान गरिएको छ । नक्कली प्रमाण पेस गरेर नेपाली नागरिकता लिएको भन्दै उनलाई पुर्पक्षका लागि कारागार चलान गरिएको प्रहरी प्रवक्ता बिष्टले जानकारी दिए ।
कैलालीको टीकापुरमा बस्दै आएका अन्सारीले धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को हिम्मतपुर शिविरका पुनिराम चौधरीलाई नक्कली बुवा र खुसीराम चौधरीलाई नक्कली दाजु बनाएर नागरिकता लिएका थिए ।
नक्कली बुवा बनेका पुनिराम चौधरी अहिले पनि फरार छन् । नक्कली दाजु बनेका खुसीराम चौधरीलाई अदालतले ५० हजार धरौटीमा रिहा गर्न आदेश दिएको थियो । धरौटी बुझाउन नसकेपछि उनी पनि कारागार चलान भएका छन् । भारतीय नागरिकको नक्कली भाउजू बनेकी गीता चौधरी भने साधारण तारेखमा छुटेकी छन् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]