देशपाेष्ट । नेपाली राष्ट्रिय फुटबल टोली अहिले दुई अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका बंगलादेशमा छ । कोरोना संक्रमण र चोटका कारण टोलीको तयारीमा केहि असर परेपनि ८ नयाँ अनुहारसहित २५ खेलाडी सम्मिलित टोलीले बंगलादेशविरुद्ध सक्दो राम्रो नतिजा ल्याउने प्रयास गर्नेछ ।
मुख्य प्रशिक्षक योहान कालिनको अनुपस्थितिमा बालगोपाल महर्जनले कार्यवाहक प्रशिक्षकको रुपमा टोलीको नेतृत्व गरिरहेका छन् । कालिनले नै छनोट गरेको ३४ खेलाडी सम्मिलित प्रारम्भिक टोलीबाट महर्जनले २५ खेलाडीलाई बंगलादेश लगेका हुन् । यसपटक टोलीका ७ खेलाडीमा कोरोना संक्रमण र केहि खेलाडी घाइते हुँदा अन्तिम छनोट प्रक्रिया पनि सहज हुन् पुग्यो ।
कालिनले छनोट गरेको प्रारम्भिक टोली भएपनि १३ औं दक्षिण एसियाली खेलकुदमा प्रशिक्षक रहेका कारण महर्जनलाई टोलीसँग काम गर्न खासै कठिन हुने छैन । कालिनअघि मुख्य प्रशिक्षक रहेका कारण पनि महर्जनले खेलाडीको अवस्था राम्रोसँग बुझेका छन् । नेपालमा रहेर झन्डै १ साता प्रशिक्षण गरेको टोलीको फिटनेसमा पनि सुधार आएको उनले बताएका थिए । रणनीतिक हिसाबमा पनि एक साताको प्रशिक्षणले टोलीलाई सहयोग पुगेको उनको बुझाइ थियो ।
२५ सदस्यीय टोलीमा रहेका अधिकांश खेलाडी नियमित पहिलो रोजाइमा खेलेका छैनन् । यसपटक गोलरक्षक विकेश कुथु, डिफेन्डर देवेन्द्र तामाङ, मिडफिल्डरद्वय रोहित चन्द र विशाल राई तथा फरवार्ड अभिषेक रिजाल टोलीमा छैनन् । टोलीको आवश्यकता अनुसार मैत्रीपूर्ण खेल भएकाले पनि केहि नयाँ खेलाडीले बेन्चमा रहेर मात्र होइन पहिलो रोजाईमा रहेर नै डेब्यु गर्ने सम्भावना रहेको छ ।
महर्जनले सामान्यतया ४-४-२ को पद्दतिमा रहेर खेलाउने गरेका छन् । टोलीले बंगलादेशमा पहिलो दिन प्रशिक्षणमा पनि यसैमा रहेर तयारी गरेको छ । तर नेपाली टोलीको अवस्था हेर्दा रणनीति परिवर्तन गरेर ४-२-३-१ को अवस्थामा पनि जान सकिन्छ । अझ केहि खेलाडीले फरक पोजिसनमा खेल्ने क्षमता राख्दा प्रशिक्षकलाई पनि रणनीति परिवर्तन गर्न केहि सहज हुने देखिन्छ ।
पोजिसनमा रहेका खेलाडी र टोलीको रणनीति पोजिसन अनुसार कस्तो हुन्छ त ?
गोलरक्षक : किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की
किरण चेम्जोङ नेपालको पहिलो रोजाइका गोलरक्षक हुन् । टोलीको नेतृत्व गर्न समेत दावेदार रहेका किरणले नै दुवै खेलमा सुरुवात गर्ने सम्भावना रहेको छ । मैत्रीपूर्ण खेल भएकाले महर्जनले एक खेलमा भने दोस्रो रोजाइका गोलरक्षकलाई पनि मौका दिन सक्छन् ।
विकेश कुथु टोलीमा नहुनाले दीप कार्कीले पहिलो पटक टोलीमा स्थान बनाएका छन् । दोस्रो रोजाइका रुपमा भने यसपटक विशाल श्रेष्ठ रहनेछन् । विशालले दुई मध्य कुनै एक खेलमा बेन्चबाट भएपनि अवसर पाउने सम्भावना रहेको छ । दीपका लागि भने राष्ट्रिय टोलीको पहिलो टुर अनुभव बटुल्न राम्रो अवसर हुनेछ ।
डिफेन्डर : अजित भण्डारी, अनन्त तामाङ, विकास खवास, दिलेन लोक्ताम, छिरिङ गुरुङ, सुमन अर्याल, सरोज दाहाल, रन्जित धिमाल
देवेन्द्र तामाङको अनुपस्थितिले डिफेन्समा अनन्त तामाङले नयाँ जोडी पाउने देखिन्छ । प्रशिक्षक महर्जनसँग विकास खवास, दिलेन लोक्ताम र अजित भण्डारी विकल्पका रुपमा छन् । विकास खवासको शारीरिक स्फूर्ति र युवा जोशले उनलाई बलियो दाबेदारको रुपमा उभ्याएको छ । उनी राइट ब्याकमा पनि खेल्न सक्छन् ।
यस्तै प्रशिक्षकले सागमा झैं विक्रम लामालाई अनन्तसँग साझेदारी गराउन पनि सक्छन् । दुवै खेलाडी क्लब स्तरमा रुस्लान थ्री स्टार र पटक पटक अन्तर्राष्ट्रिय स्तरमा पनि सँगै खेल्दै आएका छन् । लेफ्ट डिफेन्समा सुमन अर्याल र रजिन धिमालले १-१ खेलमा अवसर पाउने देखिन्छ । त्यस्तै राइट ब्याकमा विकाससँगै सरोज दाहाल र छिरिङ गुरुङको सम्भावना छ
मिडफिल्डर : अन्जन विष्ट, एरिक विष्ट, विक्रम लामा, रवि पासवान, सेसेहाङ आङदेम्बे, सुभास गुरुङ, सुजल श्रेष्ठ, तेज तामाङ, पुजन उपरकोटी, दर्शन गुरुङ
मिडफिल्डमा रणनीति अनुसार ४ वा ५ खेलाडीले खेल्नेछन् । रोहित चन्दको अनुपस्थितिमा तेज तामाङले रक्षात्मक मिडफिल्डमा विक्रमलाई सहयोग गर्नेछन् । विक्रमले डिफेन्समा खेलेको अवस्थामा भने एरिक विष्टले अवसर पाउने देखिन्छ । महर्जनले ४-२-३-१ को आक्रामक रणनीति लिने हो भने सुभास गुरुङ वा एरिक विष्ट पहिलो रोजाइमा उत्रन सक्छन् । पुजन उपरकोटी र सेसेहाङ आङदेम्बे दुवै सेन्टर मिडफिल्डमा खेल्न सक्छन् ।
वाइड मिडफिल्डमा अन्जन विष्ट, रवि पासवान र सुजल श्रेष्ठ रहेका छन् । सुजलले सामान्य चोटका कारण पहिलो खेलमा नखेल्ने सम्भावना छ । अन्जन र रवि दुवै आक्रमणमा मात्र नभएर रक्षात्मक रुपमा पनि चुस्त रुपमा सहयोग गर्ने हुनाले महर्जनले यी दुईलाई उतार्ने लगभग पक्का छ । दर्शन गुरुङ र जर्जप्रिन्स कार्की पनि विकल्पका रुपमा रहेका छन् ।
४-२-३-१ को पद्दतिमा उत्रँदा सुजल, अन्जन र रवि तीनैजना खेल्ने सम्भावना पनि रहन्छ । फरवार्ड भरत खवासले पनि आक्रामक मिडफिल्डको भूमिकामा खेल्ने क्षमता राख्छन् । दर्शन र जर्जप्रिन्स दुवैले विकल्पका रुपमा यस पोजिसनमा खेल्न सक्छन् ।
फरवार्ड : भरत खवास, विमल राना, जर्ज प्रिन्स कार्की, नवयुग श्रेष्ठ
मुख्य फरवार्डका रुपमा नवयुग श्रेष्ठ नै अग्रपंक्ति सम्हाल्ने देखिन्छ । दुई फरवार्ड उतारेको अवस्थामा उनलाई भरत खवासले साथ दिनेछन् । विमल राना र जर्जप्रिन्स कार्की बेन्चबाट आफ्नो प्रभाव जमाउन तत्पर हुनेछन् । पहिलो खेलको प्रभाव हेरे महर्जनले दोस्रो खेलका लागि आक्रमणमा परिवर्तन गर्ने देखिन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]