देशपाेष्ट । जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको म्याक्स अस्पतालले बिना अनुमति कोरोना सङ्क्रमितको उपचार गरेको भन्दै त्यस अस्पताललाई उपचारका सबै सेवा बन्द गर्न निर्देशन दिएको छ।
म्याक्स अस्पतालले सरकारी निकायको अनुमति नलिई र कोभिड सङ्क्रमणसम्बन्धी आवश्यक पूर्वाधार तयार नगरी कोरोना सङ्क्रमितको उपचार गरिरहेको पाइएकाले त्यसलाई बन्द गराइएको जिल्ला प्रशासनले जनाएको छ।
मोरङका प्रमुख जिल्ला अधिकारी कोशहरि निरौलाका अनुसार अस्पतालले कोभिडका बिरामीको उपचारका लागि आवश्यक जनशक्ति व्यवस्था नगरेसम्म र स्वास्थ्यसम्बन्धी शर्तहरू पूरा नगरुन्जेलसम्मका लागि अस्पताल बन्द गर्न निर्देशन दिइएको हो।
जिल्ला प्रशासनले अस्पताललाई पठाएको पत्रमा त्यहाँ उपचार गराइरहेका बिरामीलाई अन्यत्र व्यवस्थापन गर्न र नेपाल सरकारले तोकेभन्दा बढी उपचार शुल्क नलिन उल्लेख गरिएको छ।
प्रजिअ निरौलाले अस्पतालले सरकारी अनुमति र स्वीकृतिबिना संवेदनशील सेवा सञ्चालन गर्नुको कारणबारे लिखित जवाफसमेत माग गरिएको जानकारी दिए।
साथै, बिरामीको उपचार गर्दा सरकारले तोकेको आइसोलेसनसम्बन्धी निर्देशिका २०७७ लगायतका विधि र मापदण्ड पालना नगर्नको कारण माग गर्दै संक्रामक ऐन २०२० अनुसार कारवाही किन नगर्ने भन्दै अस्पतालको जबाफ पनि माग गरिएको छ।
अस्पताल प्रशासनले स्थानीय सरकारको अनुमतिमा सेवा सुरु गरिएको जनाएको छ।
‘हामीले स्थानीय सरकारको अनुमतिमा सेवा सुरु गरेका हौँ,’अस्पतालका प्रशासन प्रमुख हेमनारायण मेहताले भने, ‘हामी आवश्यक कागजात जुटाउने तयारी गरिरहेका छौँ। कोभिड अस्पताल सञ्चालन गर्न प्रदेश सरकारसित अनुमति लिने प्रक्रिया चलिरहेको छ।’
उनले विराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले अस्पतालमा कोभिड–१९ का बिरामीको उपचारको उद्घाटन गरेको स्पष्ट पारे।
काेराेनाका बिमारीसँग चर्काे मुल्य असुली
अस्पतालले कोभिडका एक बिरामीको शुल्क दैनिक ८० हजार रुपैयाँ लिएपछि विवाद बढेको थियो।
प्रजिअ निरौलाले बिरामीका आफन्तले दिनको ५० देखि ८० हजार रुपैयाँसम्म तिरेको गुनासो गरेपछि प्रशासनले अनुगमन गरेको थियो।
अस्पतालमा बिरामीलाई दिइने खाना र सुत्ने ओछ्यान पनि गुणस्तरीय नभएको प्रशासनको ठहर छ।
अस्पतालले हालसम्म कोरोनाका ४० बिरामीको उपचार गरेकोमा ४ जनाको मृत्यु भएको जनाएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]