देशपाेष्ट/काठमाण्डाैं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी(नेकपा)को सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दहाल(प्रचण्ड) ले पेश गरेको राजनैतिक प्रतिवेदनमा प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली माथी संगिन आरोप लगाए पछि नेकपाको आन्तरीक द्धन्द्ध अझ चर्किएको छ ।
प्रचण्डले पेश गरेको राजनैतिक प्रतिवेदनमा ओली माथी लगाएको संगिन १२ आरोप यस्ता छनः
१. ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ
राष्ट्रिय स्वाभिमान र प्रधानमन्त्रीको प्रोटोकलविपरीत कमरेड ओलीको अपारदर्शी अमर्यादित व्यवहारले ओलीको राष्ट्रवाद नक्कली भएको सन्देश जनतामा गएको छ । पार्टी र सरकारलाई ठूलो क्षति पुगेको छ ।
२. महामारीबाट आक्रान्त जनतामा झन्झन् निराशा
जनसमुदायमा सरकारका असन्तुलित नीति र व्यवहारप्रति असन्तुष्टि बढ्दो छ। यही स्थिति कायम रहिरहने र तत्काल निर्वाचन हुने हो भने पार्टीले निकै ठूलो चुनौती सामना गर्नुपर्नेछ ।
३. यती होल्डिङ्सदेखि ओम्नी समूहसम्म साँठगाँठको आरोप
वाइडबडी खरिद, सुरक्षण छापाखाना खरिद र सञ्चारमन्त्रीको टेप प्रकरण, यती होल्डिङ्ससँगको शंकास्पद कारोबार, चिनी आयात घोटाला, ओम्नी समूहको साँठगाँठमा अनियमितता भयो ।
४. बजेटअघि राजस्वको दररेटसम्बन्धी सूचना चुहाएर अनियमितता
राजस्वका दररेट परिवर्तनलाई चुहाएर विद्युत्बाट चल्ने गाडी र चकलेट आयातमा अनियमितता भयो । यस्ता प्रकरणमा मुछिएकाहरूको प्रतिरक्षा गरेर ओलीले भ्रष्टाचारलाई संरक्षण गर्नुभयो ।
५. न्यायपालिकाका प्रमुखलाई राजनीतिक रूपमा प्रयोग गर्ने प्रयास
कमरेड ओलीले स्वतन्त्र न्यायपालिकाका प्रमुखलाई प्रधानमन्त्री निवासमा बोलाएर संसद् भंग गर्ने, संकटकाल लागू गर्ने विषयमा हिस्सेदार बनाउने प्रयास गर्नुभयो ।
६. विमति राख्ने नेतालाई प्रतिशोध साँध्न राज्यशक्तिको दुरुपयोग
पार्टीमा विमति राख्ने नेताहरूसँग प्रतिशोध साँध्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई दुरुपयोग गर्न खोजियो । द्वन्द्वकालीन मुद्दालाई निहीत उद्देश्यका लागि प्रयोग गर्न खोजियो ।
७. भ्रष्टाचारका अनेक प्रकरण, तर प्रधानमन्त्रीबाटै निर्दोष घोषणा
अख्तियार प्राप्त निकायले छानबिन गरी निक्र्यौल गर्नुपर्नेमा आरोपित व्यक्तिहरू निर्दोष रहेको घोषणा प्रधानमन्त्री स्वयम्ले गर्नुभयो । आरोपित माथि छानबिनसमेत नहुने स्थिति सिर्जना गरियो ।
८. एमसिसीबारे प्रतिवेदनमा छलफल नगरी बजेटमा समावेश
केन्द्रीय कमिटीको बैठकबाट गठित कार्यदलको प्रतिवेदनमा छलफल नगरी बजेट वक्तव्यमा र १५औं पञ्चवर्षीय योजनामा एमसीसी अन्र्तगतको आयोजनालाई समावेश गरियो ।
९. ओलीको नेतृत्वमा परिवर्तनको रक्षा हुन सक्दैन
ओलीको व्यवहारबाट स्वयम्ले परम्परागत संसदीय गणतन्त्रमा खसाल्नुभएको स्पष्ट हुन्छ । उहाँको दृष्टिकोणबाट परिवर्तनको रक्षा सम्भव हुँदैन, समाजवादको दिशामा जाने त कल्पना नै गर्न सकिन्न ।
१०. समकक्षी नेतालाई कहिले प्रलोभन, कहिले धम्की
अप्ठ्यारोमा पर्दा आफ्ना समकक्षी नेताहरूलाई विभिन्न लोभ, प्रलोभन देखाउने र सहमत नभएमा डर, धाक, धम्की र चरित्र हत्या जस्ता घृणित हतियार प्रयोग गर्न पनि हिच्किचाउनु भएन ।
११. ओलीको व्यक्तिवादी प्रवृत्तिको चिरफार देशकै निमित्त आवश्यक
ओलीले आफूलाई चरम व्यक्तिवादी, गुटवादी सावित गर्नुभएको छ । उहाँमा विद्यमान यो प्रवृत्तिको व्यापक चिरफार पार्टी, आन्दोलन र देशकै निमित्त आवश्यक हुन गएको छ ।
१२. आत्मालोचनासहित ओलीबाट योगदान आवश्यक
गम्भीर आत्मसमीक्षा र आत्मालोचना गर्दै पार्टी एकता, संविधान र संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा एवं देश निर्माणमा आवश्यक त्यागसहित समुचित योगदान गर्नुहुनेछ भन्ने अपेक्षा गरिन्छ । नयाँ पत्रिका दैनिकबाट
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]