लेखिकाः पूर्णिमा श्रेष्ठ
खानेपानीले मानव जीवनमा बहुआयामिक असर पार्दछ । त्यसैले यस सेवालाई नेपाल सरकारले मौलिक हकको रुपमा व्यवस्थापन गरेकोछ । साथै अन्तराष्ट्रिय रूपमा समेत दिगो विकास लक्ष्य ले खानेपानी सम्बन्धि स्पष्ट लक्ष्यहरू निर्धारित गरेकोछ ।
नेपाल सरकारको १५ औ योजना अनुसार हाल सम्म ८९% जनसंख्यालाई आधारभूत स्तरको र २१% जनसंख्यालाई सुधारिएको खानेपानी सेवाको पहुँच पुगिसकेको उल्लेख गरिएतापनि पूर्वी नेपालको धनकुटा जिल्लाको चौबिसै गाउँपालिकाको वडानं ३ र ४ कुरुले तेनुपाको नजिकै तमोरको चिसोपानी बगिरहेको भएतापनि गाउँलेहरू पानीको अभावकै कारण अत्यन्त कष्टकर जीवन बिताउँदै आइरहेका छन् ।
पानी नभएकै कारण भोकभोकै बस्नुपर्ने दुःख लाग्दो कथा सँगै पानीको कारण आफ्नो जन्मथलो छोडेर अन्तैतिर बसाइसर्नुपर्ने बाध्यता रहेको छ ।
सुर्य बहादुर थापाको पालामा यस ठाउँमा पहिलोचोटि खानेपानी पुराइएको थियो तर राम्रो ब्यवस्थापन नहुनु र समय समयमा मर्मत कार्य नुहुनको कारण खानेपानीको पाइपलाइन र मुहान लथालिंग अवस्थामा रहेकोछ । जसबाट पानी आएता पनि पानीको मुहान फोहोर र दुर्गन्धित भएको कारण पिउन योग्य छैन । भएका कुवा र खोल्साहरु पनि सुक्न थालेका छ । जसको कारण अब्यवस्थित सडक निर्माण, ग्लोबलवार्मिंग र वनफँडानी रहेको स्थानियहरुलेबताएका छन् ।
पिउने पानीको उचित स्रोतको अभावमा तेनुपामा बसोबास गर्ने मानिसहरू आफु बाँच्नका लागि हिलो र गन्धेपानीमा भर पर्न बाध्यछन् । फोहोर र दुर्गन्धित पानी पिउनु विकल्प नभई बाध्यता भएको र प्रदूषित पानीको प्रयोगले प्रायजसो विभिन्न प्रकारका पानीले सार्ने रोगहरू जस्तै हैजा, पखाला, टाइफाइड र छालाको विभिन्न प्रकारका एलर्जीहरू हुनेगरेको त्यहाँका स्थानीयले बताउँछन् । वर्षौंदेखि यहाँका स्थानीयहरूका लागि यो सबैभन्दा ठूलो समस्याको विषय बनेकोछ ।
सिँचाइ सुविधाको अभाव र पानीको कमीका कारण बस्तीमा धेरै कृषियोग्य जमिन बाँझो रहेको छ । यहाँ बालीहरूको वृद्धि र फसल पूर्णरूपमा वर्षाको पानीमा निर्भर गर्दछ । जसको कारण खेतीयुक्त जमिन बाँझो रहेको र भएको गाईवस्तु पनि बेच्नपर्ने अवस्थामा रहेको फूलकुमारी याक्खा बताउँछिन् ।
जुनजोगी आएपनि कानैचिरेको भनेझै चुनाव आउदा हात जोर्दै पानी ल्याउने वाचा कसम खाने र जितेपछि फर्केर गाँउ नआउने फर्के पनि नआउने र पटक पटक खानेपानीको लागि गाउँपालिका र नेताहरुलाई गुहार्दा पनि आफ्नो कुराको सुनवाई नभएको स्थानियहरु बताउँछन् । मासिक एकधारा बराबर रू ३०० उठाउने गरेको र समय समयमा मर्मत कार्यको लागि पनि आफै जानुपर्ने अवस्था रहेको स्थानिय बताउँछन् । तमोर बाट मोटरबाट पानी तान्नको लागि एकघर बाट रू १५०० उठाएको वर्षाै भएको तर अहिलेसम्म पनि कुनै आशाको किरण नदेखेको स्थानियहरु निराशा हुदै बताएकाथिए ।
पानीको कारण वसाई सर्नेहरुको सख्या बढेको र गाउँरित्तिदै गएको स्थानिय बताउँछन् । पानीको समस्या समाधान भएमा आफ्नै गाउँ फर्किन्छु भन्ने धेरैको गुनासो रहेको तेनुपाको खानेपानी व्यवस्थापन अध्यक्ष गोपी भण्डारीलेबताए ।
कुरूले तेनुपामा खानेपानीको समस्या यस्तै रहीरहने हो भने केही दशकहरूमा अवस्था झनै नराम्रो हुने देखिन्छ । जसका कारण पूरै गाउँनै रितिने स्थीती पनि सिर्जना हुनसक्छ । त्यसैले नेपाल सरकारले यस विषयलाई गहन रूपमा अध्ययन गरी त्यहाँ पहिले देखि उपयोग गरिएको पानीको श्रोतको सरसफाई र उचित योजना बनाएर व्यवस्थापन गरी घरघरमा पानीका धारा जडान गरेमा यस समस्याको समाधान गर्न सकिन्छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]