लेखिकाः पूर्णिमा श्रेष्ठ
देश पोष्ट/ काठमाण्डौं । नेपालको नदीहरू मध्ये बागमती र विष्णुमती सांस्कृतिक मूल्य र मान्यता बोकेका दुई महत्वपूर्ण नदीहरू हुन् । तर उचित व्यवस्थापन र योजनावद्ध संरक्षणको अभावका कारण यी नदीहरू प्रदूषणको चपेटामा परेका छन् ।
अव्यवस्थित सहरीकरण र औद्योगीकरण नदि प्रदूषण हुनुको प्रमुख कारणहरू हुन् । वर्तमान अवस्थामा बागमती र विष्णुमती धार्मिक नदीहरू नभई सबै प्रकारका फोहोरहरू जस्तैः घरबाट निस्कने फोहोर, अस्पतालको फोहोर, दाह संस्कारसँगै हुने फोहरका साथै विषाक्त रसायन, कार्पेट धुने एसिड, कीटनाशक औषधी, रासायनिक मल, उद्योग तथा कल कारखानाको फोहोर आदि विसर्जन गर्ने स्थल बनेका छन् ।
अन्तर्राष्ट्रिय परामर्शदाताहरूको एक रिपोर्टले, “काठमाडौंको पानीमा रोग सार्ने जीवाणुहरू र खतरनाक रसायनहरू“ रहेको निष्कर्ष निकालेको छ । सोही अध्ययनका अनुसार काठमाडौंको ढलको पानी प्रयोगशालामा परीक्षण गर्दा लगभग ९०% पानी मानव उपयोगको लागि अयोग्य रहेको देखाएको छ । संयुक्त राष्ट्रसंघले जापानमा आयोजना गरेको तेस्रो विश्व जल मञ्चमा प्रस्तुत गरेको रिपोर्टले काठमाडौं उपत्यकाको पिउने पानीमा अमोनिया, क्लोरोफर्म, आईरन, हानिकारक ब्याक्टेरिया र अन्य दूषित पदार्थहरू रहेको देखाएको छ । जुन मानव स्वास्थ्य र जलीय जीवन दुवैका लागि हानिकारक छ ।
“नेपाल सरकारले काठमाडौं उपत्यकाको नदीहरू सफा गर्न १,१०,०००००। रुपैयाँ जुटाउनका साथै तीन वर्षीय अन्तरिम योजना (२००७,२००८–२००९, २०१०) को नीति र कार्यक्रममा समेत समावेश गरेको छ,” (स्रोतः बागमती कार्य योजना २००९ – २०१४), यससँगै जलस्रोत संरक्षण र व्यवस्थापनका लागि जलचर संरक्षण ऐन (१९६१), भू तथा जलाधार संरक्षण ऐन (१९८२), जलस्रोत ऐन (१९९३) आदि ऐनहरू बनेका छन् । तर प्रभावकारी रूपमा कार्यान्वयन गर्न भने सरकार असक्षम रहेको देखिन्छ ।
नदीहरुलाई थप प्रदूषणबाट जोगाउनको लागि विभिन्न सङ्घ संस्थाहरूले सरसफाइ अभियान र जन चेतना कार्यक्रमको आयोजना गर्दै आएका छन्, जसमध्ये २०७० सालबाट सुरु भएको, “बागमती सरसफाई महाअभियान” पनि एक हो । जुन हालसम्म पनि चलिरहेको छ । यस कार्यक्रमहरूबाट केही हदसम्म जन चेतना अभिवृद्धि भए पनि खासै उपलब्धि भने हासिल हुन सकेको छैन ।
स्थायी रूपमा नदीलाई दूषित हुनबाट रोक्नका लागि ऐन कानुनको कुशल कार्यान्वयनसँगै फोहोर पानीलाई नदीमा छोड्नु अघि जल प्रशोधन संयंत्रको प्रयोग गरिनुपर्छ । सहर वा औद्योगिक केन्द्रहरूमा उत्पन्न ठोस फोहोरहरूको उचित रूपमा प्रशोधन गरिनुका साथै यस कार्यका लागि सबै सरोकारवालाहरू उत्तरदायी हुनु पर्दछ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]