देश पोष्ट/ खोटाङ । अविरल वर्षले धानबालीमा निकै ठूलो क्षति पुर्याएको छ । तीनवटा प्रदेशमा मात्रै ६७ हजार ९ सय १९ हेक्टर क्षेत्रफलमा लगाइएको धानबालीबाट ७ अर्ब २२ करोड रूपैयाँ नोक्सान भएको छ । तीनवटा प्रदेशको तथ्यांक हेर्दा सबैभन्दा बढी क्षति लुम्बिनी प्रदेशमा भएको छ। उक्त प्रदेशमा १ लाख ३० हजार ५६ हेक्टरको धानबाली क्षति भएको छ।
तराई तथा पहाडी भेगका अधिकांश क्षेत्रहरुमा पनि धानबाली नष्ट भएको छ । विशेषगरी पाल्पा, गुल्मी, नवलपरासी पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, प्युठान र रोल्पा बढी प्रभावित भएका छन्।
उक्त जिल्लाहरूमा ३ लाख ९ हजार १ सय १० हेक्टर क्षेत्रफलमध्ये १ लाख ३० हजार ५६ हेक्टरमा रहेको धानबालीमा क्षति पुगेको छ। पाल्पाको ८ हजार १ सय ९० हेक्टरमध्ये ५ सय ३५ हेक्टरमा रहेको धानबालीमा क्षति पुगेको छ। यस्तै, गुल्मीको १० हजार २ सय ४६ हेक्टरमा क्षेत्रफलमध्ये ६ सय ५८ हेक्टरमा क्षति, कपिलवस्तुको ६४ हजार ३ सय ५० हेक्टरमध्ये ३५ हजार ४ सय ६३ हेक्टरको बालीमा क्षति पुगेको छ।
कैलाली र कञ्चनपुरमा मात्रै एक लाख २० हजार हेक्टर क्षेत्रफलमा धान लगाइन्छ । कैलालीमा ३ लाख ४० हजार मेट्रिक टन र कञ्चनपुरमा १ लाख ८७ हजार मेट्रिक टन धान उत्पादन हुने गरेकोमा वर्षाले क्षति पुगेपछि आधाले कमी हुने आँकलन गरिएको छ।
कैलाली र कञ्चनपुर धान खेतीका लागि पकेट क्षेत्र मानिए पनि यसपटकको पानीले किसानले काटेर भित्र्याउन ठिक्क पारेको हजारौं हेक्टर क्षेत्रफलको धान बालीमा नोक्सानी पुर्याएको छ।
प्रदेश-१ मा धान लगाइएको कुल क्षेत्रफल मध्ये ४९ हजार ९ सय ४४ हेक्टर क्षेत्रफल अविरल पानीले प्रभावित रहेको कृषि विकास निर्देशनालयकी बाली संरक्षण अधिकृत सरसस्वती श्रेष्ठले बताइन्। उक्त प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला सबैभन्दा बढी प्रभावित छन्। उनका अनुसार यसवर्ष प्रदेश-१ मा तीन लाख ३६ हजार नौ सय ४४ हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका सूचना अधिकारी मनिष कुमार पालले जानकारी दिए अनुसार प्रदेश-२ मा धान लगाइएको कुल क्षेत्रफल मध्ये ५ देखि ६ प्रतिशत क्षेत्र बढी प्रभावित रहेको छ । उक्त प्रदेशमा ४ लाख ३ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो । सप्तरीमा सबैभन्दा बढी क्षति भएको छ।
बाग्मति प्रदेशमा एक लाख ४२ हेक्टर क्षेत्रफलमा धान लगाए मध्ये ४ हजार हेक्टर क्षेत्रफलमा क्षति भएको प्रदेशको कृषि विकास निर्देशनालयका कृषि अर्थ विज्ञ रामहरी तिमल्सिनाले जानकारी दिए।
सबै जिल्लाबाट तथ्यांक प्राप्त नभएकोले यकिन तथ्यांक भने आउन बाँकी रहेको उनले बताए।
गण्डकी प्रदेशमा एक लाख १७ हजार एक सय ३५ हेक्टर क्षेत्रफलमा धान लगाइएको मध्ये २ हजार ५ सय ९१ हेक्टर क्षेत्रफलमा पूणर् क्षति भएको छ । त्यस्तै, ७ हजार ८ सय २१ हेक्टर क्षेत्रफलमा भने आंशिक क्षति भएको छ। गण्डकी प्रदेशका कास्की र पर्वत सबैभन्दा बढी प्रभावित छन्।
त्यस्तैगरि कणर्ाली प्रदेशमा पनि १२ हजार ६ सय ४८ हेक्टर क्षेत्रफलमा लगाइएको धानमा क्षति पुगेको छ । कुल ४८ हजार हेक्टर क्षेत्रफलमा विभिन्न जातका धान लगाइएको थियो। जुम्लामा १८ हेक्टर क्षेत्रफलमा लगाएको धान सबै बाढीले बगाएको छ । चारवटा प्रदेशमा भएको क्षतिको विवरण नआएकाले यतिनै हेक्टर क्षेत्रफलमा क्षति पुग्यो भन्न सकिन्न ।
त्यस्तै, सुर्खेत, दैलेख, कालिकोट, मुगु लगायतका जिल्लाहरु पनि पानीबाट प्रभावित छन्। कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका अनुसार यसवर्ष देशभर करिब १३ लाख ४२ हजार हेक्टर क्षेत्रफलमा धान लगाइएको थियो।
कुल ग्राहस्थ उत्पादनमा कृषिको योगदान २८ प्रतिशत छ। त्यसमध्ये धानको मात्रै १० प्रतिशत छ। धानमा भएको क्षतिले कुल ग्राहस्थ उत्पादनको योगदान घटेको छ । पानीमा डुबेका धानलाई बाहिर निकालेर स्टिम राइस, चिउरा बनाएर क्षति कम गर्न सकिने विज्ञहरूको भनाइ छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]