तेन्जु योन्जन
देश पोष्ट खोटाङ । मुलुकमा सासन पद्धति तथा राज्य सत्ता प्रणाली सहि तरिकाबाट संचालित नहुदा आफ्नो क्षमता हुदा हुँदै पनि आफ्नो देशमा क्षमता अनुसार काम नपाउदा तथा क्षमता तथा योग्यता हुदा हुदै पनि नातावाद कृपाबाद तथा पहुँच नपुग्दा रोजगार नपाउनु नै बिडम्बना छ । जसको पहुँच पुग्छ। सोर्स फोर्स पुग्छ त्यसले मात्र स्थान पाउनाले अधिकाङ्स युवा बाध्यता भित्र आफ्नो बिहान बेलुकी छाक टार्न तथा छोरा छोरिको गुणस्तर शिक्षाको निमित्त पुजिको खोजिमा बैकल्पिक रुपमा वैदेशिक रोजगारमा जानू बिबस छन ।
यो रहर हैन बाध्यता हो । मुलुकमा कयौं पटक परिवर्तन र सुसासनको निमित्त आन्दोलन क्रान्ति भयो । शासन फेरियो नेता फेरियो , सत्ता फेरियो । ब्याबस्था फेरियो , संविधान फेरियो तर केवल कागजमा फेरियो । ब्यबहारिक रुपमा नफेरिदा जस्ताको तस्तै छ। भ्रष्टाचार चिन्तनको अन्त्य नभए सम्म नेपालको स्थिति उस्तै हुने छ।
यस्तै कथा पल्लो गाउको साईला काकाको जिवनमा साबित हुनु पुग्यो । काका भन्छन्, यसपटक सात वर्ष पछाडि छोरो दसैं मान्न विदेशबाट घर आयो । यो वर्ष तिहार पनि मानेर जाने कुरा छ । छोरी दसैंमा आउन नपाए पनि यूएईबाट तिहारसम्ममा आइन् । हँसिलो अनुहारमा काकाले खुसी बाँड्दै भने, ‘धेरै वर्ष पछाडि यसपटकका चाडबाड रमाइला भए । यसैगरी, ७० को दशक बिताएका बरबोटे काइलो दाइको दुःखेसो भने बेग्लै छ, उनी भन्छन्, छोरो विदेशबाट नआएको ८ वर्ष भयो । बुहारीले मति बिगारेपछि नातिनातिना हेरेर बस्नु परेको छ । एक वर्ष भयो, बुहारीले घर छाडेर हिँडेको । अरूको घरजम बिगारी दिने पनि उस्तै । श्रीमान्, छोराछोरी छाडेर हिँड्ने पनि उस्तै । छोराले यसपटक पनि दसै तिहारमा बिदा नपाएकाले आउन पाइनँ भनेर फोन गरेको थियो । अब दुई÷चार महिनामा आउँछु भनेको छ । के गर्नु ? पिर पनि अनेक थरिका । सहनै पर्ने । लामो सुस्केरा हाल्दै बरबोटे दाइले छोरा बैदेसिक रोजगारमा गएकाले उसको घर बिग्रिएको कथा सुनाए ।
नयाँ घरे माइला दाइले भने, ‘छोरीले मकाओबाट पठाएको पैसाले गत वर्ष घरमा टिन लगाएँ, यस वर्ष दसैंतिहार खर्च पठाएकी थिइन् । छोराले दुवईबाट घर खर्च पठाउँछ । दुवै छोराछोरीको बिहावारी गर्न बाँकी छ । अब खेत बाँझियो । बारीमा मकै तोरी खेती गर्न पनि नसकिने भइयो । गोठमा भैसि छैन । न त गोरु नै । गाउँभरिमा तीन हल मात्र गोरु छन् । कसैका पनि बढेका छोराछोरीहरू गाउँमा छैनन् । सबैको हालत उस्तै छ । अहिले गाउँघरमा बाटो आयो । पसलहरू खुले । किनेर खान सुविधा भएको त छ । तर विदेशमा दुःख गरेर पठाएको पैसाले खान लगाउन, केटाकेटीको पढाइ, औषधि मूलो ठिक हुन्छ । बचत हुँदैन । के गर्नु ? नेपालमा रोजगारी नपाए पछि छोराछोरी बिदेसिए । हेर्दा हेर्दै गाउँ बस्ती उजाड भयो ।
माथि उल्लेखित पात्रहरूको दुःखेसो नेपाली समाजको प्रतिनिधि आवाज मात्रै हुन् । अहिले लाखौंको संख्यामा युवाहरू बिदेसिएका छन् । दिनमा लगभग १५ सयको हाराहारीमा युवाहरू बिदेसिएको सरकारी तथ्यांक छ । देशमा रोजगारीको अभावले युवाहरू बिदेसिन बाध्य भएका हुन् । देशको युवाशक्तिले विदेशमा पसिना बगाउनु भविष्यको शुभ संकेत होइन।
गाउ“घरका खेतबारी बाँझिएका छन् । गाउँबस्तीहरू युवाविहीन भएका छन् । विदेशबाट पठाएको रेमिट्यान्सले चुलोचौको चलेको छ । उत्पादन हुने अब्बल खेतबारी झाडीले ढाकेको छ । अरू मुलुकबाट आयात गरिएका चामल, तरकारी, फलफूललगायतका खाद्यवस्तुहरू किनेर गाउँलेहरूको गुजारा चलेको अवस्था छ । खाद्यवस्तुमा परनिर्भरता बढ्दो छ । व्यापार घाटा प्रत्येक वर्ष बढिरहेको छ ।
प्रजातन्त्र पुनस्र्थापनापछि विदेश निर्यात हुन थालेको युवा पुस्ताको ठूलो संख्या विदेशमा छ । देश विकास गर्ने युवाहरूको मेहनत कडा श्रम र पसिनाले हो । युवाहरूको जोस, जाँगर, सीप र शक्तिलाई विकास निर्माणका कार्यमा लगाउन नसक्ने देशले कहिल्यै विकास गर्न सक्दैन भन्ने कुराको उदाहरण मध्ये हाम्रो देश पनि एउटा हो भन्दा फरक नहोला । जहाँ देशलाई विकास गर्न वैज्ञानिक रोडम्याप बनाएर देशको आर्थिक पुँजी र मानवस्रोतको उपयोग गरी विकास निर्माण गर्नुपर्नेमा राजनीतिक दलहरू कुति जाने कासीको बाटोझैं युवालाई विदेश निर्यात गरेर विकास र समृद्धिको गफ चुटिरहेका छन् । प्रजातन्त्रको पुनस्थापना देखि सुरु भएको युवा बिदेश निर्यात हुने कार्य गणतन्त्र पछाडि झन युवाहरू विदेश निर्यात भएका हुन् । युवापुस्ताको ठूलो संख्या विदेशमा छ । स्वदेशमा बाँकी भएका युवा पनि बेरोजगारीले सताइएका छन् । बाध्यता भित्र कोही राजनीतिक दलका झन्डा बोक्न बाध्य भएका छन् भने कोही कुलतमा फसेका छन् । देशलाई युवाविहीन बनाएर विकासले कसरी गति लिन सक्छ ? आर्थिक समृद्घि कसरी हुन सक्छ ? यसर्थ राज्यले वैदेसिक कामदारका रूपमा गएका युवा युवतीहरूको परिश्रमलाई स्वदेशमा नै लगाउने कार्य योजना बनाउनु आजको प्रमुख आवश्यकता हो ।
देशमा विभिन्न काल खन्डमा ठूलो राजनीतिक परिवर्तन भयो । यो राजनीतिक परिवर्तनको लागि मुख्य भुमिकामा युवापस्ताको ठूलो योगदान छ । इतिहासका कालखण्डहरूमा राजनीतिक परिवर्तनका लागि संघर्ष गर्ने, देशका लागि रगत बगाउने जुझारु युवापुस्ता अहिले सबैभन्दा बढी राजनीतिक कुसंस्कारको सिकार भएको छ । स्वदेशमा आयआर्जन गर्ने अवसर नहुँदा युवा काम, माम र रोजगारीका लागि बिदेसिन बाध्य भएका छन् । मजदुर, कान्छा र बहादुरका नाममा विदेशी भूमिमा पसिना बगाउन विवश छन् । दलहरूमा योग्य राजनेताको अभाव छ । गरिब नागरिकलाई अजानिदो पाराले बारम्बार ढाँटेर र झुठा सपना जनताको घर घरमा पुगि बाँडेर निर्वाचनमा भोट आफ्नो पोल्टामा पार्ने र सत्तामा पुगेपछि राज्यको ढुकुटी बर्बाद गर्ने असक्षम नेताहरूको कारण देश बर्बाद भएको छ ।
नेपाल प्राकृतिक स्रोत र साधनले सम्पन्न मुलुक हो । हरेक पालिकामा कुनै न कुनै प्राकृतिक सम्पदाको खानी छ । उत्पादनको सम्भावना छ । युवाहरूले आफ्नै गाउँठाउँमा आयआर्जनका अवसर सिर्जना गर्न सक्ने प्रचुर सम्भावना छ । परन्तु, आफ्नै गाउँघरमा आयआर्जनका लागि व्यवसाय खोज्ने, रोज्ने र टिकाउने कार्यमा न त देशको शिक्षा प्रणालीले सहयोग गर्न सकिरहेको छ न त राज्यको अक्कल पुराएको छ ।वास्तविक रुपमा भन्ने हो भने हाम्रो देशको राज्य धार नभएको खुर्पाजस्तो छ । भिजन, मिसन र एक्सन नभएको प्रभावहीन संयन्त्रका रूपमा सञ्चालित छ । हरेक गाउँहरूमा कृषि, पशुपन्छी पालन, मत्स्य पालन, हल्टिकल्चर, जडीबुटी, कृषि उत्पादनमा आधारित घरेलु उद्योग, पर्यटनको विकासलगायतका क्षेत्रको विकास गरी आयआर्जनको अवसर भए युवाले गाउँ छाड्ने थिएनन् । गाउँहरू आफ्नै उत्पादनमा आत्मनिर्भर हुने थिए । स्थानीयस्तरमा उत्पादन भएका खाद्यवस्तुहरूको किनबेचको कारोबारले आर्थिक समृद्धि हुने थियो । देशले विकासको गति लिने थियो ।
बिदेसिने जनशक्तिलाई स्वदेशमा नै आयआर्जनको अवसर प्रदान गर्न सके विदेशको श्रम र पसिनालाई स्वदेशमा नै उपयोग गर्न सकिन्छ ।
विदेश पलायनको मनोविज्ञानले ग्रस्त अघिल्लो हरफमा उल्लेखित क्षेत्रहरूमा आधुनिकरण, यान्त्रिकीकरण, बजारीकरण गर्न राज्यले योजना बनाउन आवश्यक छ । प्रत्येक पालिका युवाहरूमा कृषि, पशुपालन, मत्स्यपालन, माहुरीपालन, तरकारी खेती, फलफुल खेतीलगायतमा आधुनिकीकरण गर्ने ठोस कार्य योजना बनाई लगानी गर्नुपर्छ । यसका साथै कृषि उत्पादनमा आधारित घरेलु उद्योग स्थापना गर्नुपर्छ । यसका लागि व्यावसायिक कृषि उत्पादन र पशुपछी पालनसम्बन्धी तालिम दिने राष्ट्रिय आयोजना बनाउनुपर्छ । खाडी मुलुकलगायतका देशमा रोजगारीका लागि गएका युवाको परिश्रमलाई गाउँघरमा लगानी गर्ने भरपर्दो कार्य योजना बनाएर कृषि क्षेत्रमा विनियोजन गरिएको रकमलाई व्यावसायिक तालिम र सोहीअनुरूपको उत्पादनमा लगानी गर्नुपर्छ । राज्यले बिदेसिएका युवालाई रोजगार दिने योजना बनाउन कृषि विज्ञसँग सहकार्य गर्न अब ढिला गर्नुहुँदैन ।
कृषिमा आधुनिकीकरणबिना देशमा आर्थिक समृद्घि हुन सक्दैन । गाउँघरमा भएका खेतबारीमा आधुनिक कृषिखेती नगरेसम्म उत्पादनमा गाउँहरू आत्मनिर्भर हुन सक्दैनन् । पुरानो तरिकाको जीविकोपार्जनमा आधारित कृषि उत्पादनलाई उन्नत तरिकाले नगदेबालीमा परिणत गर्ने आधुनिक कृषि प्रणालीका लागि हरेक पालिकाले सम्भावित उत्पादनको अनुसन्धान गर्नुपर्छ । कृषि विज्ञसँग सहकार्य गर्नु गर्नुपर्छ । र कृषि प्रणालीलाई व्यावसायिक बनाउने तालिम दिनु जरुरी देखिन्छ ।
देश विकास गर्ने पहिलो सर्त युवाशक्तिलाई देशभित्र नै आयआर्जनका अवसर र उज्ज्वल भविष्यको आशा जगाएर रोक्नु हो । देशमा सिर्जनशील काम गर्नुपर्नेबेलामा राज्यले युवा शक्तिलाई विदेश पठाएर विपे्रषणको भरमा देशको अर्थतन्त्रलाई धान्ने काम गर्नु दुर्भाग्य हो । विकराल भविष्यको संकेत हो । नेपाली युवाहरू रहरले बिदेसिएका होइनन् । स्वदेशमा आयआर्जन गर्न नसक्दा काम, माम र जीवन यापनका लागि छिमेकी वा टाढाका मुलुकमा भौतारिन बाध्य भएका हुन् । त्यसैले युवालाई गास, बास र कपासको सहज व्यवस्था गर्न सक्ने अवसरको सिर्जना गर्न जरुरी छ ।
अन्त्यमा अहिलेको युवाशक्तिले कामको महत्व बुझेको छ । देशविदेशमा हन्डर खाएको छ । पढेलेखेको पनि छ । प्रविधिमैत्री छ । यो जनशक्तिलाई स्वदेशमा नै आयआर्जनको अवसर प्रदान गर्न सके विदेशको श्रम र पसिनालाई स्वदेशमा नै उपयोग गर्न तयार छ । तसर्थ, स्थानीय प्रतिनिधिले आ आफ्नो क्षेत्र तथा पालिकामा रहेको प्राकृतिक स्रोत र साधन पहिचान गरी हावा, पानी र माटोको आधारमा उत्पादनका सम्भावनाको अध्ययन गरी तदनुरूपको कार्य योजना बनाउन विलम्ब नगरोस् ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]