-तेन्जु योञ्जन
देश पोष्ट /खोटाङ । जनताको अमुल्य मत प्राप्त गरेर जनता र देशको खातिर भन्दै सिंहदबार छिर्छन देश हाक्छु भन्ने विभिन्न पार्टी दलका नेतृत्व सम्हालेका, ठुला पद सम्हालेका नेताहरु । तर जब सिंहदरबार छिर्छन् तब आफ्नो स्वार्थको लागि भ्रष्टाचार दलाल बन्छन् । हिजो सर्बहारा भनिने नेता पुजीवादी सपनाको संसार भित्र रुमलिएर आफ्नो लागि अकुत सम्पती काउने धन्दामा तल्लिन भै नातावाद कृपावाद को चक्रबिउ भित्र फसिन्छन ।
अनि अपराधीक कृयाकला गर्छन्,अपराधी लाई पालन पोषण गुन्डा गर्दी सग झ्यामिदै भ्रष्टाचार गर्न अघि बढ्छन् । अनि देश र जनताको लागि गरिने काम नै बिर्सिन्छन् । जब पाचौं बर्ष सकिन लाग्छ फेरि चुनावको समय आउँछ अनि गाउँ गाउँ फर्किन्छन् । दलालीहरु अनि गाउका सिधा सोझालाई पैसाले किन्छन एक बोतल रक्सी र मासुमा बिकाउछन । यहि हो हाम्रो देशको नेताहरूको सक्कलि परिचय भन्दा केही फरक नहोला। जुनै पार्टी दल भए पनि पटक पटक गल्ती नेताहरू बाटै भएको छ।
हिजो दुई तिहाई बहुमतको सरकार हुदा एमाले ले एमसिसि पास गर्न हर प्रयास गरे । त्यस बेला काङ्ग्रेस माओवादिले बिरोध गरे सडक आन्दोनन गरे ।
अहिले एमाले सरकारबाट निस्कियो अनि एमाले लगायत अन्य दलले बिरोध गर्यो आफुले गरेको गल्ती देख्दैन ।
बरम्बार गल्ती गरिरहने, तर आफ्नै गल्ती नदेख्ने, आफूले जे गरे पनि ठीक मान्ने, आफ्नै निर्णय लागू हुनैपर्ने भन्ने मानसिकताका शीर्षस्थ नेता सबै दलमा छन् । यसमध्येका कतिपय नेताहरू आफ्नै गल्ती ढाकछोप गर्नकै लागि अरूलाई दोषारोपण गरी चोखो बन्ने प्रयत्न पनि गर्छन् । केही नेता यस्ता पनि छन् जो समय समयमा मनगढन्ते भ्रामक कुरा निकालेर चर्चाको शिखरमा पुग्न रुचाउँछन् ।
यस्तै नेताहरूमध्ये अग्रपंक्तिमा आउने नेता पुष्पकमल दाहाल वा नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड प्रचण्ड हुन । हरेक कुरामा प्रचण्ड अगाडि आउने गर्छन् । हुन त सर्वसाधारण नागरिकले मात्र होइन माओवादी पार्टीकै नेता कार्यकर्ताले प्रचण्ड दुई जिब्रे छन्, उनको बोलीमा स्थिरता छैन, बोलीलाई वातावरणअनुसारै परिभाषित गराउन खप्पिस व्यक्ति हुन् भन्ने कुरा नबुझेका छैनन् ।
प्रचण्ड द्वैध चरित्र प्रस्तुत गर्नमा खप्पिस छन् भन्ने बुझ्नका निम्ति एमसीसी प्रकरणमा उनले अपनाएको पछिल्लो व्यवहारले नै पुष्टि गर्छ । किनकि, केही समय अगाडि प्रधानमन्त्री शेरबहादुर देउवाकै योजनाअनुसार एमसीसी पारित गराउने भनी प्रचण्डले लिखितै सहमति दिए तर सो’सार्वजनिक रूपमै टीकाटिप्णी एवं उनकै पार्टीभित्र आलोचना हुँदा प्रचण्ड आफैंले संशोधन नगरी यथावस्थामा पारित गर्नुहुँदैन भनी लागिपरे । आफू सत्तामा रहेर आफ्ना कार्यकर्तालाई सत्ताविरुद्ध गतिविधिमा सडकमा उतार्ने कार्य गर्दै आए ।
कमेरड प्रचण्डको द्वैध चरित्रको चर्चा शिखरमा पुगेकै बेला त्यसलाई छायामा पार्न अर्को आधारहीन दिग्भ्रमित दृष्टिकोण उनले सार्वजनिक गरे । जसमा प्रचण्डले माओवादी पार्टीलाई देशभित्र र देशबाहिरका प्रतिक्रियावादीले घेरा हालेर सखाप पार्न लागेका छन् भन्ने आरोपै लगाए । उनले यो कुरा गत माघ २५ गते नेत्रविक्रम चन्द नेतृत्वको नेकपा जुम्ला जिल्ला समितिलाई माओवादी केन्द्रमा समाहित गराउने क्रममा व्यक्त गरेका थिए । आफूहरू नै अहिलेको यति ठूलो परिवर्तनको बाहक भएको, हामी नै विभाजिततिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ भन्ने आशय उनको थियो । प्रचण्डको यो भनाई वास्तविकतामै आधारित हो वा भ्रमपूर्ण भन्ने अडकलबाजी पनि सर्वसाधारणले गरिरहेका छन् ।
छविलाल वा पुष्पकमल दाहाल उमेरले सात दशक पार भइसकेका छन् । तर, कमरेड प्रचण्ड भने नेपाल कम्युनिस्ट पार्टी माओवादीको उदय सँगसँगै २०५२ सालमा जन्मिएका हुन् भन्ने कुरा आमनेपालीलाई बोध भएकै छ । कमरेड प्रचण्डले २०५२ सालदेखि अहिलेसम्मको २६ वर्षे कार्यकालमा संगठन विस्तार कसरी गरे, पार्टीलाई कसरी गतिशील बनाए भूमिगत कालको उनको १० वर्षे रणनीति कस्तो रह्यो, सर्वसाधारणलाई उनले कस्तो नजरले हेरे भन्ने’दयगत आमनेपालीहरू अनभिज्ञ छैनन् । मूलधारको राष्ट्रिय राजनीतिमा समाहित भएपछि विगतकै पृष्ठभूमिकै आधारमा प्रचण्डप्रति आमनागरिकको विश्वास पलाउँदै गयो । प्रचण्डले भनाइलाई कार्य रूपमै उतार्छन् भनेरै पहिलो संविधान सभाको निर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी माओवादीलाई जनताले अत्यधिक मतले विजयी पनि गराए । अहिलेसम्म प्रचण्डमा त्यही जनमतको बल छ ।
२०६४ सालमा जनताले विश्वासका साथ प्रचण्डलाई राष्ट्रिय राजनीतिकै नायक बनाए तर प्रचण्डले लोकतन्त्र स्थापित भए यताको १३ वर्षे कार्यकालमा जनताको निम्ति के गरे ? आफूले जनतालाई दिएको आश्वासन पूरा गरे/गरेनन् ? उनको नयाँ नेपाल अहिले कहाँ छ ? सम्पन्न नेपाल सुखी नेपाली बनाउने उनको चाहनामा तुषापात कसले ग¥यो ? विपन्न जनता र मजदुर किसानले आफ्नै राज्यसत्ता सञ्चालन गर्न किन पाएनन् ? पार्टी अध्यक्ष प्रचण्ड र अर्का वरिष्ठ सदस्य डा. बाबुराम भट्टराई नै मुलुकको कार्यकारी प्रधानमन्त्री बने । तर, उनीहरूले जनताको निम्ति के गरे ? यस्तै अनेकौं प्रश्नहरू अहिले प्रचण्डसामु तेर्सिएका छन् । त्यसको चित्त बुझ्दो जवाफ दिएर जनविश्वास अक्षुण गराउने सामर्थ्य अहिले प्रचण्डमा देखिँदैन ।
कमरेड प्रचण्डले आफ्नो हैसियत आफैं गुमाउँदै आए ।करिब शताब्दी पहिले माओत्सेतुङले प्रतिपादन गरेको माओवादी विचारधाराको उदय काल र अहिलेको नेपाली समाजको चेतनाको स्तरमा आमूल परिवर्तन भइसकेको छ । परिवर्तित परिवेश अनुकूलकै जनदृष्टिकोण सम्बोधन गर्न नसक्ने राजनीतिक विचारधारा जनताका निम्ति स्वीकार्य हुँदैन, भन्ने कुरा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रले नबुझेको छैन । दलीय सिद्धान्तको विगतको कार्य रूप सकारात्मक थियो/थिएन ? पार्टीले सत्ता चलाउँदा जनताको हितमा के ग¥यो ? भन्ने कुराकै विगतको मूल्यांकनले माओवादी पार्टीको भविष्य निर्धारण गर्ने कुरा पनि आमनागरिकले बुझिसकेका छन् ।
कमरेड प्रचण्डको पार्टी २०६३ सालमा मूल राजनीतिक धारमा आबद्ध हुँदा जनतामा पलाएको आशा र उत्साह अहिले शून्यमा झरिसकेको छ । माओवादी पार्टीलाई जनताले अहिले विपन्न वर्ग, मजदुर किसान एवं सर्वसाधारण वर्गको पार्टीको रूपमा होइन पुँजीवादी पार्टीकै रूपमा हेर्दै आएका छन् । पार्टीका शीर्षस्थ नेताको कार्यशैली र व्यवहारले यसलाई प्रमाणित गर्दै ल्याएको छ ।
पहिलो संविधान सभाको निर्वाचन ताका माओवादीले लगाएको चुनावी नारा मात्रै स्मरण गर्ने हो भने नेताको व्यवहारको कारण सो पार्टी सक्कली होइन नकावधारी माओवादी पार्टी हो भन्ने बुझिन्छ । पार्टी सत्तामा पुगे नयाँ नेपाल बन्छ, विपन्नको जीवनस्तरमा कायापलट आउँछ, देशको मुहारै फेरिन्छ भन्ने विश्वासले नै जनताले अत्यधिक मतसहित माओवादी पार्टीलाई विजयी गराए । जनताले आफूले चाहेअनुसारै राज्य सञ्चालन गर्न पाउने, जनप्रतिनिधिले जनभावना अनुरुपै राज्य सञ्चालन गर्ने, जनतालाई नै सर्वशक्तिमान बनाउने, सिंहदरबारमा केन्द्रित अधिकार जनप्रतिनिधिले गाउँमै प्रयोग गर्न पाउने समुदाय विशेषकै जातीय राज्य बन्ने, वर्गविहीन समाज निर्माण गर्ने, सबैको हकअधिकार समान हुने, गरिबी उन्मूलन गर्ने, बेरोजगारी हल गर्ने, भनी माओवादीले चुनावताका लगाएको नाराले जनतालाई लठ्ठ पनि बनायो ।
तर, त्यही पार्टी बराबर सत्तामा पुग्दा मजदुर किसान विपन्न मात्र होइन कमरेड प्रचण्डकै औजार बनाइएका लडाकु दस्ताको र कमरेड प्रचण्डको जीवनस्तर, हकअधिकार, सुखशान्ति समृद्धि, विलासिता, पारिवारिक समृद्धि समान किन भएन ? यी दुई पक्षबीच अकाश पातालको अन्तर किन र कसरी भयो ? भन्ने अवस्थाले नै कमरेड प्रचण्ड माओवादी विचारधाराको मखुण्डो भिर्ने सक्कली पुँजीवादी हुन भन्ने कुरा पुष्टि हुन्छ । आफ्नो स्वार्थी राजनीतिकलाई ब्यापारीक केन्द्रमा परिनत गराउदाको परिणाम हो आजको राजनीति पृष्ठभुमि । हिजो गरिब जनताको घर घरमा जनयुद्धकाल गुजारेका माओवादि सिर्षनेताहरुले सिंहदरबार पुग्न साथ सर्बहारा भन्ने शब्द भुल्दै पुजीवादी बनेको इतिहास तपाईं हामी सामु अग्लो पहाड बनेर उभिरहेको छ।
कथित सर्वहारा र श्रमजीवी पार्टीको नेता हुँ भन्ने माओवादी पार्टीकै शीर्षनेताहरू आफैंले माओवादी सिद्धान्तलाई व्यवहारमा तिरस्कार गर्दै ल्याए । वर्गविभेदको खाडल बढाउन, सुख समृद्धि, भोगविलासी तथा सम्भ्रान्त जीवन बिताउन मरिमेट्दै आए । विपन्नको गाँस, बास र कपासको व्यवस्था गर्नुको त कुरै छोडौं, एलानी जग्गामा बनाएको झुपडीमा आश्रय लिएका सकुम्बासीलाई झुपडीबाटै हटाई बिल्लीबाठ बनाए । विपन्न जनताको जीवनस्तर उकास्न होइन, नेताको जीवनस्तर उठाउन युगान्तकारी परिवर्तन ल्याएको अनुभूति दिलाए । ठुलठुला राष्ट्रियस्तरका महत्वपूर्ण योजनामा प्रत्यक्ष एवं अप्रत्यक्ष रूपमै सम्मिलित भए, उद्योग,कलकारखाना, व्यपार व्यवसाय, शिक्षालय र मेडिकल कलेज खोलेर ज्ञान आर्जनकै स्रोत बने, उनीहरू नेतामा मात्र सीमित रहेनन् राष्ट्रियस्तरकै सबै क्षेत्रका प्रतिष्ठित व्यक्ति बन्दै आए ।
माओवादी नेताहरू विशेषगरी पद र शक्तिका निम्ति आपसमा लुच्छाचुडी गर्दै आए । राज्य सत्ताको दुरुपयोग गरेरै भए पनि परिवार एवं नाता सम्बन्धका व्यक्तिलाई हैसियत बेगरकै जिम्मेवारी दिएर राष्ट्रिय ढिकुटी दोहन गर्न पल्किए । आफ्नै परिवार नै सत्तामा पुग्नै पर्छ भन्ने मानसिकता राख्दै आए । पारस्परिक अस्वस्थ प्रतिस्पर्धाकै कारण स्वैच्छाचारिताले सीमा नाघ्दा पार्टीभित्रै फुट र कलह हुँदै आयो । अन्ततः शीर्षस्थ नेताहरू नै एकै ठाउँ अट्न नसक्ने अवस्था सिर्जना गरे । मोहन वैद्य, डा. बाबुराम भट्टराईजस्ता पार्टीकै हस्ती मानिएका व्यक्तिहरूले नै पार्टी त्याग गरे । मोहन वैद्यले क्रान्तिकारी माओवादी पार्टी गठन गरे भने डा. बाबुराम भट्टराई पनि एकपछि अर्को गर्दै अहिले जसपामा आबद्ध भएका छन् । सशस्त्र संघर्ष गर्दाको अवस्थामा कायम रहेको माओवादीको १९ सदस्यीय केन्द्रीय नेतृत्व अहिले छिन्नभिन्न अवस्थामा पुगेको छ ।
अर्का प्रभावशाली नेता नेत्रविक्रम चन्दले अलगै नेपाल कम्युनिस्ट पार्टी चलाउँदै आएका छन् भने लोकेन्द्र विष्ट पार्टी नै छोडी कृषक बनेका छन् । अर्को पार्टीमा आबद्ध हुन पुगेका गोपाल किराँती पनि पछिल्लो पार्टीमा स्थिर हुन सकेका छैनन् । अध्यक्ष प्रचण्डकै सैन्य कमान्डर रामबहादुर थापा नेकपा एमालेमा आबद्ध छन् । लेखराज भट्ट र टोपबहादुर रायमाझी एमाले पार्टीमै संलग्न छन् । तल्लो तहका अन्य धेरै नेताहरू राजनीतिबाटै अलगिएका छन् । जनयुद्धका खम्बा मानिएका कैयौं कार्यकर्ता र लडाकुहरू जनजीविकाका निम्ति खाडी मुलुक पुगेका छन् । प्रचण्डकै दाहिने हात मानिएका उच्च स्तरीय नेतादेखि तल्लो तहका उपरोक्त कार्यकर्तालाई देशीविदेशी शक्तिले नै प्रचण्डसँग अलग्याएको हो वा उनीहरूलाई प्रचण्डकै व्यवहारले विस्थापित गरायो ? यो अध्यक्ष प्रचण्डसँग सम्बन्धित सबैको सवाल हो । सर्वसाधारण नागरिकको नजरमा भने प्रचण्डले आफ्नै कार्यशैली र व्यवहार ढाकछोप गर्नकै लागि माथि उल्लेखित पछिल्लो अभिव्यक्ति दिएका हुन् ।
हुन त अध्यक्ष प्रचण्डले वक्तव्य दिने गहकिलो विषयवस्तु नपाएको अवस्थामा सर्वसाधारण र पार्टीकै कार्यकर्तालाई ऊर्जा प्रदान गराउनकै निम्ति पनि समय समयमा कल्पनामा आधारित मनगढन्ते अफवाह फैलाउने गरेका छन् । विषयवस्तुको यथार्थतासँग उनको मतलब हुँदैन तर आफूले व्यक्त गरेको कुराले चर्चा पाओस् भन्ने उद्देश्य प्रचण्डको रहेको देखिँदै आएको छ । अध्यक्ष प्रचण्ड र वरिष्ठ नेता डा. बाबुराम भट्टराई नै मुलुकको कार्यकारी प्रधानमन्त्री बन्दा दुवैको हातखुट्टा बाँध्ने र दिमागमा चाबी लगाउने कार्य त कुनै पनि देशीविदेशी शक्तिले त गरेका थिएनन्, न त उनीहरूको कार्यशैली र व्यवहार नै ठप्पा बनाउने षड्यन्त्र नै कुनै शक्तिले ग–यो । प्रधानमन्त्रीको हैसियतले गर्ने काम कार्य र सुधारका कार्य गर्न उनीहरू पूर्ण रूपमा स्वतन्त्र थिए । तथापि, उनीहरूले जनप्रिय कार्य गरेनन् । त्यसको कारण पनि उनीहरूकै नाता र परिवार केन्द्रित स्वैच्छाचारी र स्वार्थी कार्यशैली नै थियो ।
प्रचण्ड नेतृत्वको माओवादी पार्टीले आफ्नै तल्लो तहका कार्यकर्ताको दुःख पीडालाई सम्बोधन गर्न सकेको छैन, उल्टै उपेक्षा गरेको छ । युद्ध मैदानमा अग्रपंक्तिमा खटिएका सहयोद्धाको समस्या समाधान गर्न सकेको छैन । यिनीहरूलाई नै सत्ताको भ–याङ बनाएर प्रचण्ड सत्तामा पुगे । मुलुकको कार्यकारी प्रधानमन्त्री हुँदा पनि सहकर्मी एवं सहयोगीहरूको हितका निम्ति प्रचण्डले किन कार्य गरेनन् त्यसताका कुनै देशीविदेशी शक्तिले उनलाई रोकेको त थिएन । मातहतका सहयोगी एवं लडाकुको हितमा कार्य गर्न रोकावट गर्ने देशीविदेशी शक्ति होइन प्रचण्डको आफ्नै कार्यशैली बाधक बन्यो ।
सत्तामा आसिन भइसकेपछि प्रचण्डले आफूले भ–याङ बनाएकै व्यक्तिलाई लत्याए । यति मात्र होइन पार्टी अध्यक्ष प्रचण्डकै ढुलमुले नीतिले पार्टीको प्रतिस्पर्धालाई अक्षुण राख्न सकेनन् । १९ वर्ष बितिसक्दा पनि शान्ति प्रक्रियाले पूर्णता पाउन सकेको छैन । सत्य निरूपण तथा मेलमिलाप आयोग एवं बेपत्ता व्यक्ति छानबिन आयोगको कार्य बिरबलकै खिँचडी बन्दै छ । आन्दोलन पीडित आमनागरिकको मात्र होइन, जनयुद्धका शहीद, बेपत्ता व्यक्ति तथा घाइते योद्धालाई समेत प्रचण्ड नेतृत्वको माओवादी पार्टीले राहत प्रदान गरेन । त्यो कसको कारणले देशीविदेशी शक्तिले वा प्रचण्डकै कारणले ? मूल्यांकन गरौं ।
अत्यधिक जनविश्वास प्राप्त शक्तिशाली पार्टीको नेतृत्वकर्ता प्रचण्डले नेकपा माओवादीको सर्वोच्च शक्तिलाई संरक्षण गर्न सकेन । नेतृत्वको निजी स्वार्थ,परिवारकै सदस्यप्रतिको सत्तामोह, मातहतका नेता कार्यकर्ताको बेवास्ता एवं उपेक्षा, शीर्षस्थ नेताबीचकै शक्तिको प्रतिस्पर्धा नै पार्टी बिखण्डनको कारकतत्व बनेको प्रचण्डले महसुस गर्लान् नगर्लान् ? त्यो उनीसँग सम्बन्धित विषय हो । तथापि पार्टीको नेतृत्वकर्ताको हैसियतले त्यसको नैतिक जिम्मेवारी प्रचण्डले नै लिनुपर्छ ।
राष्ट्रकै निर्णायक शक्ति बनिसकेको नेकपा माओवादी पार्टी नेतृत्वकै कारण खण्डीकृत हुँदै अहिलेको अवस्थामा आइपुगेको हुँदा, कमरेड प्रचण्डले देशीविदेशी शक्तिलाई दोषारोपण गरी आफू स्वच्छ छु भन्न सुहाउँदैन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]