देश पोष्ट /खोटाङ । प्रसिद्ध त्रिधार्मिकस्थल खोटाङको हलेसी मन्दिरको महत्व बुझाउन पर्यटक गाइड तालिम शुरु गरिएको छ ।
हलेसी आउने पर्यटक तथा भक्तजनलाई त्यहाँको आधिकारिक महत्व बुझाउँदै पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले स्थानीय २५ जना युवालाई सहभागी गराएर आठ दिने तालिम दिन शुरु गरिएको नगरपालिकाले जनाएको छ ।
हलेसी मन्दिर व्यवस्थापन समितिको सभाहलमा बुधबारबाट सुरु भएको तालिम आठ दिनसम्म सञ्चालन हुनेछ । नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान काडमाण्डौ सँगको सहकार्यमा नगरपालिकाले तालिमको आयोजना गरेको हो ।
नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानका विभागीय प्रमुख अजयकुमार ढकाल, वरिष्ठ प्रशासन अधिकृत नरेश डंगोल, सह–प्राध्यापक तथा संस्कृत विद् डा.लोकनाथ दुलाल, बौद्ध धर्मगुरु पुण्यप्रसाद पराजुली र किरात मुन्धुम अध्धेता भोगीराज राईले सहजीकरण गरिरहेका छन् ।
गाइड सम्बन्धि तालिमका लागि नगरपालिकाले मंसिर ८ गते सूचना निकालेको थियो । जसमा ३३ जनाको आवेदन परेकोमा २ जनाको प्रक्रिया नपुगेको महादेवस्थानका वडाध्यक्ष एवं नगर प्रवक्ता कमल गिरीले जानकारी दिए । ३१ जना मध्ये तालिममा ७ महिला र १८ पुरुष गरी २५ जना सहभागी भएका छन् ।
तालिम सम्पन्न पश्चात उनीहरुलाई सुचिकृत गरेर राखिनेछ । गाइड सम्बन्धि कार्यविधि निर्माण गरेर तालिम लिएकाहरुलाई गाइडको रुपमा परिचालन गर्ने नगरपालिकाले जनाएको छ ।
पर्यटकहरुलाई हलेसी र आसपासका धार्मिक तथा पर्यटकीयस्थलको महत्वको विषयमा विभिन्न ढंगले वर्णन गर्ने गरेको हुँदा अब आधिकारिक गाइडबाट आधिकारिक रुपमा पर्यटक तथा भक्तालुजनलाई यसको महत्व तथा वास्तविकता भनिने नगरप्रमुख विमला राईले बताउनुभयो।
धार्मिक तथा सांस्कृतिक रुपले प्रसिद्ध मानिने तीर्थस्थल हलेसीको दर्शन गर्नाले मनोकांक्षा पूरा हुने जनविश्वास रहिआएको छ । हलेसीमा महादेवगुफा, पापद्वार, धर्मद्वार, भैरवगुफा, बसाहागुफा लगायत अवलोकन गर्न र पूजाआजा गर्न नेपालका विभिन्न जिल्लासँगै भारत, बंगलादेश, भुटान लगायतका देशबाट पनि भक्तजनहरु आउने गरेका छन् ।
हलेसीमा हिन्दु, बौद्ध र किरात धर्म मान्नेहरु आ–आफ्नै तरीकाले पूजापाठ गर्ने गर्छन । हिन्दु धर्ममा आस्था राख्नेहरुले यसलाई पशुपतिनाथको रुपमा, बौद्ध धर्मावलम्बीहरुले दोस्रो लुम्बिनीको रुपमा र किरात धर्मावलम्बीहरुले आदिम भूमीको रुपमा पूजा–आजा गर्ने गरेका छन ।
हिन्दु, बौद्ध र किरात तिनै वटा धर्महरुको आ–आफ्नै छुट्टै इतिहास रहेको छ । सोही आधिकारिक जानकारी पर्यटकलाई दिन नगरपालिकाले गाइड राख्नको लागि बुधबारबाट तालिम प्रदान गर्न सुरु गरेको बताइएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]