देश पोष्ट/ खोटाङ ।खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चेस्थित माबेमा सञ्चालित भानु आधारभूत विद्यालयमा माध्यमिक तहको कक्षा शुरु गरिएको छ । वि.सं. २०२६ सालमा स्थापना भएको भानु आधारभूत विद्यालयलाई गाउँपालिकाले यही शैक्षिकसत्रदेखि कक्षा–९ सञ्चालनको अनुमति दिएसँगै माध्यमिक तहको कक्षा शुरु गरिएको हो ।
कक्षा–९ मा ३१ जना विद्यार्थी भर्ना गरेर पठनपाठन शुरु गरिएसँगै आधारभूत विद्यालयलाई आइतबार माध्यमिक तहमा स्तरोन्नति गरेर उद्घाटनसमेत गरिएको छ ।
विद्यालय स्थापना भएको लामो समयपछि गाउँमै माध्यामिक तहको विद्यालय सञ्चालन भएसँगै लिच्कीराम्चेका विद्यार्थीले तीन घण्टा पैदल हिँडेर छिमेकी वडामा सञ्चालित सिम्पानी मावि सिम्पानी पुग्नुपर्ने बाध्यता अन्त्य भएको छ ।
स्थानीय अभिभावकले सङ्कलन गरेको चन्दा तथा स्थानीय सरकार (गाउँपालिका)को सहयोगले माध्यमिक तहको विद्यालय सञ्चालन गरिएको प्रधानाध्यापक गोपाल राईले बताउनुभयो ।
कार्यक्रममा माध्यामिक तह सञ्चालनार्थ चन्दा सहयोग गर्ने अभिभावकहरुलाई सम्मानपत्रसमेत प्रदान गरिएको थियो ।
निमावि राहत तीजना, प्रावि राहत एकजना, बालविकास सहायक एकजना, निजी एकजना र प्रावि दरबन्दी चारजनागरी दशजना शिक्षक रहेको उक्त विद्यालयको हालसम्म १८८ जना विद्यार्थी भर्ना भएको विद्यालय प्रशासनले जनाएको छ ।
माध्यमिक तहको विद्यालय उद्घाटन कार्यक्रममा पालिका प्रमुख उदिम बहादुर राई, उपप्रमुख रुपेश राई, वडाअध्यक्ष इन्द्रबहादुर राई, नेपाल कम्युनिष्ट पार्टी (एमाले)का प्रदेश समिति सदस्य राजन ढकाल, नेकपा (माओबादी केन्द्र) गाउँपालिका अध्यक्ष दीपेन्द्र राई लगायतले शुभकामना दिनुभएको छ । विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक अभिभावक संघका अध्यक्ष तथा प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]