देश पोष्ट /खोटाङ । खोटाङको केपिलासगढी गाउँपालिकाले व्यवसायिक रुपमा तोरी खेती गर्ने किसानलाई अनुदान बापतको रकम उपलब्ध गराउने भएको छ । आर्थिक वर्ष २०७९/०८० को गाउँसभाबाट स्वीकृत कृषि विकास कार्यक्रम अन्तरगत गाउँपालिकाले व्यवसायिक रुपमा तोरी खेती गर्ने किसानलाई खेती गरेको जग्गाको क्षेत्रफल र उत्पादन भएको तोरीको मात्राको आधारमा मूल्याङ्कन गरेर अनुदान बापतको रकम उपलब्ध गराउने काम शुरु गरिएको ।गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले वडा नं. १ फेदीका २७ जना किसानका लागि रु एक लाख ३२ हजार २५०, खार्ताम्छाका २८ जना किसानका लागि रु एक लाख ३४ हजार २५० र बास्पानीका ४५ जना किसानका लागि रु एक लाख ६६ हजार ५०० वितरण गरेको जनाइएको छ । फेदीबाट शुरु गरिएको अनुदान बापतको रकम वितरण अभियान सबै वडामा पुगेर सम्बन्धित किसानको हातमा पुर्याउने गाउँपालिकाले जनाएको छ ।
व्यवसायिक तोरी खेतीका माध्यमबाट किसानलाई स्वरोजगार बनाउँदै आयातित खाने तेललाई विस्थापित गर्ने लक्ष्यका साथ किसानलाई अनुदान दिने कार्यक्रम ल्याइएको गाउँपालिका प्रमुख समिर राईले बताउनुभएको छ ।
गाउँपालिकाको अनुदान पाउन किसानले कम्तिमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्ने छ वा कम्तिमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने कार्यविधिमा उल्लेख गरिएको छ । गाउँपालिका प्रमुख संयोजक रहेको अनुगमन तथा मुल्याङ्कन समितिको सिफारिसका आधारमा कृषक, कृषि फार्म र कृषक समूहलाई बैङ्क खातामा अनुदान उपलब्ध गराइने तोरी खेती प्रोत्साहनका लागि अनुदान कार्यक्रम तयार गरिएको हो ।
कम्तिमा तीन रोपनी वा सोभन्दा बढी जग्गामा तोरी खेती लगाउने किसानलाई प्रतिरोपनी रु एक हजार र कम्तिमा दुई मुरी वा सोभन्दा बढी तोरी फलाउने किसानलाई प्रतिमुरी रु दुई हजार ५०० का दरले विनाशर्त अनुदान उपलब्ध गराइने कृषि शाखाले जनाएको छ । गाउँपालिकाबाट अनुदान पाउनका लागि कम्तिमा तीन रोपनी जग्गामा तोरी खेती लगाउनुपर्छ अथवा कम्तिमा दुई मुरी तोरी उत्पादन गर्नुपर्ने हुन्छ ।
तीन रोपनीभन्दा थोरै जग्गामा दुई मुरी तोरी उत्पादन गर्ने किसानले पनि अनुदान पाउने गाउँपालिकाले जनाएको छ । जग्गाको क्षेत्रफलको आधारमा अनुदान लिने की तोरी उत्पादन गरेर मुरीको आधारमा अनुदान लिने भन्ने छनोट किसानको हुनेछ ।
प्रतिरोपनी जग्गा बराबरको अनुदान लिने वा तोरीको मुरीको आधारमा अनुदान लिने निर्णय किसानको हुने जनाइएको छ । खपत भएपछि बाँकी रहेको तोरीको तेललाई निर्यात गर्ने लक्ष्य राखिएको गाउँपालिका प्रमुख राईले जानकारी दिनुभएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]