प्राडा कपिल लामिछाने
विषय प्रवेश
खोटाङ जिल्लाको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका, वडा नं.७ मा २०३६ वैशाख १५ गते माता चन्द्रकुमारी र पिता बमबहादुर राईका सुपुत्रका रूपमा जन्मेका श्रीराम राई कलिलो उमेरमै लघुकथामा देखापरेका हुन् ।
उनको पहिलो प्रकाशित लघुकथा ‘आश्वासन हो । यो २०५६ वैशाखको ‘युवामञ्चमा प्रकाशित भएको छ । त्यहाँदेखि अहिलेसम्म उनको लघुकथा यात्रा दुई दशक लामो भइसक्यो । उनका लघुकथाको एकल र छुट्टै संग्रह प्रकाशित नभए पनि श्रीओम श्रेष्ठ रोदनद्वारा सम्पादित ‘आजका लघुकथा -२०७४) मा उनका पाँच लघुकथा प्रकाशित भएका छन् भने अन्य सामूहिक संकलनमा पनि उनका लघुकथा छापिँदै आएका छन् ।
गोरखापत्र संस्थानद्वारा २०७३ मा आयोजित लघुकथा प्रतियोगितामा उनी उत्कृष्ट दसमा परेका हुन् । उनका लघुकथामा ससाना र विषयवस्तु नै नबन्लान् जस्ता लाग्ने विषयलाई पनि कथ्यविषय बनाई आख्यानीकरण गरिएको पाइन्छ । उनको ‘हर्कत शीर्षकको लघुकथा खेमराज पोखरेलद्वारा सम्पादित सामूहिक लघुकथा सङ्ग्रह …मदुस -२०७६) मा सँगालिएको छ ।
१) आयाम
श्रीराम राईद्वारा रचना गरिएको ‘हर्कत शीर्षकको लघुकथाको आयाम छोटोछरितो छ । यसको रचना छोटाछोटा १३ अनुच्छेद र करीब १७० शब्दमा भएको छ । यही छोटो आयामभित्र कथानकको आदि, मध्य र अन्त्य भई त्यसले पूर्णता पाएको छ । लघुकथाको आयामका दृष्टिले यो उपयुक्त छ ।
२) कथानक
प्रस्तुत ‘हर्कत‘ शीर्षकको लघुकथामा राजनीतिक अपराधीकरणलाई विषयवस्तु बनाइएको छ । यसको कथानक राजनीतिक क्षेत्रबाट लिइएको छ । मान्छेहरूले नेत्री प्रेरणाका बारेमा जस्तो बोली उस्तै व्यवहार, यो भेकको अभिभावक, जिल्लालाई लोडसेडिङ मुक्त बनाउने मुख्य हात, चुनाव भयो भने उनको जीत सुनिश्चित, गुनैगुनले भरिए पनि किन मान्छेहरू उनकै खोइरो खन्छन् भनी टिप्पणी गर्नु, अकस्मात् गल्छेडामा उसको लास भेटिनु, मान्छेहरूले गर्नेभन्ने मान्छेले अधबैंसमै जिन्दगीको बहीखाता बुझाएपछि हाम्रो के होला भन्नु, राम्रोको आयु लामो हुँदो रैनछ भन्नु, पोस्टमार्टमपछि श्रद्धाञ्जली सभा हुनु, सभामा आँखाभरि आँसु पार्दै डुम्मप्रसादले आँखामा राखे पनि नबिझाउने होनहार व्यक्तित्वको अवसानले आफू मर्माहत भएको बताउनु, त्यसको लगत्तै स्थानीय निर्वाचनको घोषणा हुनु, डुम्मप्रसादले माथि आफ्ना नेताहरूलाई फोन गर्दै हाम्रो बाटाको काँडालाई हटाइसकेको बताउनु जस्ता सूक्ष्म घटना–प्रसंगबाट यस लघुकथाको कथानकको निर्माण भएको छ ।
नेत्री प्रेरणाको प्रशंसाबाट कथानकको आरम्भ भएको छ, उसको मृत्यु र श्रद्धाञ्जली सभामा भएको प्रशंसाबाट कथानकको बिस्तार भएको छ भने आसन्न स्थानीय चुनावको घोषणा भएको सन्दर्भमा डुम्मप्रसादले आफ्नो माथिको नेतालाई हाम्रो बाटाको काँडालाई हटाइसकेको बताएबाट कथानकको चरम तथा अन्त्य भएको छ । कथानक आदि, मध्य र अन्त्ययुक्त, क्रमिक, सरल तथा शृंखलित छ । कथानकको ढाँचा रैखिक छ ।
३) पात्र र चरित्र
प्रस्तुत लघुकथामा मान्छे, प्रेरणा र डुम्मप्रसाद जस्ता पात्रहरू छन् । माथिको नेता पनि छ । प्रेरणा राजनीतिक नेत्री हो । उसले मानिसहरूको चित्त बुझ्ने गरी खटेर काम गरेकी छ । जिल्लालाई लोडसेडिङबाट मुक्त गराउने काम गरेकी छ । चुनाव भए उसैले जित्ने मानिसहरूको विश्वास छ । यसरी गाउँ र गाउँलेको सेवामा समर्पित प्रेरणाको लास गल्छेडामा भेटिनुले उसको हत्या भएको देखिन्छ । त्यसैले प्रेरणा देश र जनताको सेवामा समर्पित र राजनीतिक हत्याको सिकार भएकी चरित्र हो । प्रेरणा सकारात्मक चरित्र हो । अर्को पात्र डुम्मप्रसाद हो । यो स्थानीय राजनीतिक कार्यकर्ता देखिन्छ ।
प्रेरणाको मृत्युमा प्रेरणालाई आँखामा राखे पनि नबिझाउने होनहार व्यक्तित्व भनेर श्रद्धाञ्जली अर्पण गर्ने र माथिका नेतालाई आफ्नो बाटोको काँडालाई हटाइसकियो भनी जानकारी दिने डुम्मप्रसाद नै हो । उसको भनाइबाट प्रेरणाको हत्या भएको र त्यस हत्यामा उसकै हात तथा राजनीतिक स्वार्थ रहेको प्रस्ट हुन्छ । मानिसहरू (गाउँलेहरू) काम गर्नेलाई सघाउन सक्दछन् तर त्यस्ता नेता कार्यकर्ताको संरक्षण गर्न सक्दैनन् । माथिको नेता र डुम्मप्रसाद नकारात्मक चरित्र हुन् ।
४) उद्देश्य
प्रस्तुत लघुकथाको उद्देश्य समकालीन राजनीतिक अपराधीकरणलाई देखाउनु हो । यही उद्देश्य सम्प्रेषणका लागि यहाँ नेत्री प्रेरणा, मान्छेहरू र डुम्मप्रसाद रहेको आख्यान तयार पारिएको छ । देश र जनताका पक्षमा खटेर जुटेर काम गरी जनताको मन जिती नेतृत्वमा जाने लोकतान्त्रिक वा प्रजातान्त्रिक परिपाटी हो । काम नगर्नेहरू जनताको काम गर्नेहरूबाट आत्तिन्छन् र उनीहरू राजनीतिक अपराधीकरणतर्फ लाग्दछन् । यहाँ प्रेरणा त्यस्तै अपराधीकरणको सिकार भएकी छ भने त्यस्तो अपराधीकरणमा डुम्मप्रसादको संलग्नता छ । यसले नेपालमा विगतमा पटकपटक भएका राजनीतिक हत्यालाई प्रतिध्वनित गरेको छ । राजनीतिक नेताको संरक्षणमा जनताका नेताको निर्मम हत्या गरेर आफ्नो राजनीतिक दुनो सोझ्याउन खोज्नेहरूलाई यस लघुकथाले व्यंग्य पनि गरेको छ । डुम्मप्रसादले नै प्रेरणाको हत्या गराई आफ्ना बाटाको काँडा हटाएको हो भन्ने कुरा लघुकथान्तमा आएर एक्कासि पटाक्षेप गरिएको छ ।
५) परिवेश
प्रस्तुत लघुकथा राजधानी बाहिर मोफसलको परिवेशमा उभिएको छ । जिल्ला लोडसेडिङ मुक्त गरेको प्रसंग, डुम्मप्रसादले माथि आफ्ना नेताहरूलाई फोन गरेको प्रसंग आदिबाट यो लघुकथाको परिवेशमा राजधानीदेखि बाहिरको कुनै जिल्ला हो भन्ने बुझिन्छ । यद्यपि यहाँ कुनै स्थानिक र कालिक परिवेशको उल्लेख छैन । लोडसेडिङ र त्यसबाट मुक्त हुने गर्ने प्रसंगले यसले साठीको दशकको अन्त्यतिरको समयावधितर्फ संकेत गरेको छ । लघुकथाको उद्देश्य र कथ्यको सम्प्रेषणका निमित्त प्रस्तुत परिवेश उपयुक्त देखिन्छ ।
६) भाषाशैली
बाह्य दृष्टिविन्दुमा रचना गरिएको प्रस्तुत लघुकथाको भाषा सरल र सहजबोध्य छ । यहाँ संवादको प्रयोग भएको छ र त्यसलाई आठ ठाउँमा उद्धरण चिन्हमा नदिई आरम्भमा निर्देशक चिह्न (ड्यास) दिइएको छ भने दुई ठाउँमा एकल उद्धरण चिन्ह दिइएको छ । यस्तोमा एकरूपता अपेक्षित छ । संवादले लघुकथामा नाटकीयता थपेको छ । त्यसबाहेक लघुकथाका घटना र क्रियाकलाप मुख्यतया वर्णनद्वारा प्रस्तुत गरिएकाले यहाँ वर्णनात्मक शैली अवलम्बन गरिएको प्रस्ट हुन्छ । यहाँ प्रयुक्त केही कथन मार्मिक छन् । जस्तै, ‘गर्नेभन्ने मान्छेले अधबैंसमै जिन्दगीको बहीखाता बुझाएपछि के होला हाम्रो हालत ‘राम्राको आयु पनि छोटो हुँदो रैछ ‘ आदि ।
७) निष्कर्ष
जीवनजगतका झिनामसिना जस्ता लाग्ने विषयवस्तु समेतलाई टप्प टिपेर लघुकथा बुन्न सिपालु श्रीराम राईको नजर यदाकदा ठूलठूला र जल्दाबल्दा राष्ट्रिय समस्यामा पनि गएको देखिन्छ । त्यस्तै एउटा लघुकथा हो, ‘हर्कत ‘ । अरबीमूलको शब्द हर्कत (हरकत) ले गति, चेष्टा, गलत क्रियाकलाप आदिलाई बुझाउँछ । यहाँ राजनीतिक क्षेत्रमा भएका वा हुनेगरेका राजनीतिक हत्या जस्ता गलत क्रियाकलापलाई हर्कत भनेर बुझाइएको छ । संक्षिप्त आयाम, छोटो र सरल कथानक, थोरै पात्र र आकर्षक शैली अवलम्बन गरी यहाँ राम्रो काम गर्नेको खुट्टा तान्ने मात्र होइन, हत्या गरेर आफ्नो मार्ग निष्कण्टक तुल्याउने गलत राजनीतिक संस्कारलाई छर्लंग्याइएको छ । त्यस्ता हर्कतमा सामेल राजनीतिक व्यक्ति, चरित्र र दललाई यहाँ झटारो हान्ने काम पनि भएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]