दिवस रिजाल, असार २२ खोटाङ ।
जिल्लामा होटल व्यवसाय गरेर वसेका व्यवसायीहरुले कोरोना भाइरसको सङ्क्रमण नियन्त्रण गर्न सरकारले लागू गरेको लकडाउनको अवधिभर कर छुटको व्यवस्था गर्न माग राखेका छन् । गत चैत ११ गतेदेखि जारी बन्दाबन्दीका कारण जिल्लाका होटल व्यवसायी, होटल व्यवसायका क्षेत्रमा संलग्न कर्मचारी र मजदुरले आर्थिक सङ्कट खेप्दै आएको भन्दै होटल व्यवसायी सङ्घले आइतबार जिल्ला प्रशासन कार्यालयमा ज्ञापन–पत्र बुझाउँदै राहतको व्यवस्था गर्न माग राखेका हुन् ।
घर भाडामा लिएर व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीलाई ५० प्रतिशत घरभाडा र घर बहाल कर छुटको व्यवस्था गर्न, होटल व्यवसायी, कर्मचारी र मजदुरलाई संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारबाट सामाजिक सुरक्षाकोष वा अन्य श्रोतबाट आर्थिक प्याकेजको व्यवस्था मिलाउन जोडदार माग गरिएको छ ।
होटल व्यवसायी सङ्घ खोटाङका अध्यक्ष जयप्रसाद राई ‘जेपी’का अनुसार होटल व्यवसायीले राज्य तथा स्थानीय सरकारबाट कार्ययोजना बनाएर बन्दाबन्दीको समय अवधिभरको विजुलीको बिल, खानेपानीको बिल, स्थानीय सरकार तथा राज्य सरकारलाई तिर्नुपर्ने विभिन्न किसिमका कर तथा नवीकरण शुल्क छुट गराउन माग गरेको वताए ।
उनका अनुसार दिक्तेल बजार तथा हलेसीका अधिकांश होटल भाडाको घरमा सञ्चालित रहेको भन्दै मासिक रुपमा घरधनीलाई भाडा बुझाएर होटल व्यवसाय सञ्चालन गर्दै आएका व्यवसायी ले मासिक कर्जा तिर्न नसक्ने अवस्थामा पुगेका कारण ५० प्रतिशत ब्याज छुट गराई कम्तिमा एक वर्षसम्म ब्याज तथा मासिक किस्ता तिर्न नपर्ने व्यवस्था मिलाउन, पुनः व्यवसाय सञ्चालनका लागि तीन वटै तहका सरकारबाट सहुलियत ब्याज दरमा बैङ्किङ कर्जाको व्यवस्था मिलाउन लगायतका लगायतका सात बुँदे माग गरिएको वताए ।
होटल व्यवसायीले राखेको मागका विषयमा सम्बन्धित निकायसँग छलफल गराउने प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले विश्वास दिलाए ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]