देशपाेष्ट/काठमाण्डाैं । नेपाली कांग्रेसका सांसद तथा उद्योगपति विनोदकुमार चौधरीले नेपालमा लगानीको वातावरण बन्न नसकेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना गरेको अर्थनीति बहसको कार्यक्रममा चौधरीले सरकारले निजी उद्योगी व्यवसायीलाई हेर्ने नकारात्मक सोचका कारण लगानीको वातावरण बन्न नसकेको बताए।
लगानी गरेर उद्यमशील बन्ने सोच धेरैमा भए पनि लगानीको उपयुक्त अवसर नभएको उनको भनाइ छ। निजी औद्योगिक क्षेत्रको विकासका लागि ऐनकानुन नीति नियम बनाउनेको सोचमा परिवर्तन नआएसम्म लगानीको सहज वातावरण नहुने उनले बताए।
‘औद्योगिक क्षेत्रको विकासका लागि धेरै कानुन बाधक छन्’, उनले भने। यदि देशमा लगानीको वातावरण बनाएर औद्योगिक क्षेत्रको विकास गरी बिदेसिएका युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्न सकिने सम्भावना प्रशस्त रहे पनि लगानीमैत्री कानुन बनाउन आवश्यक भएको उनले बताए।
ऐन कानुन बनाउने उद्योगीलाई केही नजान्ने र अनुभव नै नभएको राजनीतिज्ञ तथा कानुन निर्माताले मै हुँ भन्ने मानसिकताले उद्योगमैत्री कानुन बन्न नसकेको बताए। ‘देशमा कानुन कसरी बन्छ भन्ने सबैलाई थाहा छ। म आफैं दुई पटक कानुन बनाउने ठाउँमा पुगिसकेको छु’, उनले भने, ‘नियन्त्रण गर्ने मासिकता र नकारात्मक सोचले देशको आर्थिक विकास हुँदैन। जबसम्म यस्ता सोचबाट मुक्ति पाइँदैन तबसम्म मुलुकले आर्थिक रूपमा फड्को मार्न सक्दैन।’
उद्योगी व्यवसायीलाई कानुनले बाँध्नेभन्दा सहजीकरण गरी दिए मात्र विदेशी वा स्वदेशी लगानी बढ्ने उनको भनाइ छ। ‘हाम्रो देशमा सधैं कानुनी अड्चन आई नै रहने हो भने औद्योगिक क्षेत्रको विकास जति कुरा गरे पनि हुनेबाला छैन’, उनले भने।
पर्यटन, शिक्षा औषधिजन्य कृषिलगायत क्षेत्रमा लगानी बढेको छ। नेपालमा लगानी लगाउन सक्ने क्षेत्र धेरै नै भए पनि लगानीको वातावरण बन्न नसकेको उनले बताए।
उनले भने, ‘पछिल्लो समय नेपाली पनि स्वदेशमै केही उद्यमशील बन्न चाहन्छन्। तर, उद्यमी बन्ने उपयुक्त वातावरण सरकारले दिन सकेको छैन।’
नयाँ नयाँ प्रविधिसँग जोडिएर नेपाली युवा उद्यमी बन्न लागे पनि प्रेरणा नपाउँदा हतोत्साहित हुने गरेको उनले सुनाए। कतिपय युवा उद्यमी बन्न चाहेर पनि सही दिशा निर्देशन गर्ने मान्छे नहुँदा अन्य क्षेत्र लाग्नुपर्ने बाध्यता रहेको उनले सुनाए। देशको आर्थिक विकास र स्वदेशमै रोजगारी सिर्जना गर्न सरकारले युवा जनशक्तिलाई उद्यमशीलको प्रशिक्षण कार्यक्रम सञ्चालन पर्ने उनको भनाइ छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]