देश पोष्ट /खोटाङ । थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका खोटाङको केपिलासगढी गाउँपालिका– ४ बाक्सिलाका खेलाडी बरुण घले गुरुङलाई नेर्पा स्पोर्टस् क्लब नेर्पाले सम्मान गरेको छ।
मुआथाईमा चर्चा कमाएका गुरुङलाई गाउँ आएको अवसरमा नेर्पा स्पोर्टस् क्लबले आइतबार दिक्तेलमा निमन्त्रणा गरेर कदरपत्रसहित खादा ओढाएर सम्मान गरिएको नेर्पा स्पोर्टस् क्लबका उपाध्यक्ष विशाल राईले जानकारी दिएका छन् ।
नेपाललाई संसारमाझ चिनाउने गरी थाइल्यान्डका खेलाडीलाई लगातार तीनपटक स्ट्रेट डिफिट (सीधा हार) गरेकामा बरुणलाई हौसला र सम्मानस्वरूप सम्मान गरिएको क्लबका सचिव वीरेन गुरुङले बताए ।
मुआथाईमार्फत देशको नाम फैलाएको भन्दै गुरुङलाई फागुन २७ गते केपिलासगढी गाउँपालिका र फागुन २६ गते वडा कार्यालय बाक्सिलाले सम्मान गरेको थियो। गुरुङलाई गाउँपालिकाका उपप्रमुख गुरुराज राईले कार्यालयमा सम्मान गरेका छन् ।
नेपालबाट थाइल्यान्ड पुगेर व्यावसायिक रूपमा मुआथाई खेल्न सुरु गरेका गुरुङ गत फागुन दोस्राे हप्ता बैंककमा आयोजित केएटी रोड साे इपिसाेडमा किकबक्सिङ रुल्समा थाई फाइटरमाथि टेक्निकल नकआउट (टिकेओ)मार्फत लगातार तेस्राे जित निकाल्न सफल बनेका थिए।
गत माघ ६ गते थाइल्यान्डको राजादम्नर्न स्टेडियममा भएको प्रतियोगितामा थाई फाइटरलाई जित्ने पहिलो नेपाली फाइटरको इतिहास रचेका गुरुङले त्यसलगत्तै माघ २९ गते थाइल्यान्डको पटायाको म्याक्स मुआथाई रंगशालामा भएको म्याक्स मुआथाई फाइटमा राउन्ड वानको पहिलो ४० सेकेन्डमा थाई फाइटरलाई हराउँदै टिकेओमार्फत दोस्राे जित हासिल गरेका थिए।
नेपालको इरावान मुआथाई फाइट जिममा तालिम र कोचिङ गर्दै आएका गुरुङले हाल थाइल्यान्डको बैंककस्थित मेड मुआथाई जिममा तालिम लिइरहेका छन्। गुरुङले मुआथाईका विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएर उपाधिहरू हात पारिसकेका छन्।
प्रतियोगितामा हातखुट्टा भाँचिने र अनुहार बिग्रिने भएकाले यस खेललाई जोखिमपूर्ण मानिन्छ। थाइल्यान्डको युद्धमा थाई आर्मीबाट सुरु भएको र प्रयोग गरिएको मुआथाई थाइल्यान्डको राष्ट्रिय खेल हो।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]