देश पोष्ट /खोटाङ । डिभिजन वन कार्यालय खोटाङले नेपाली सेना र नेपाल प्रहरीलाई डढेलो नियन्त्रण गर्ने औजार उपलब्ध गराएको छ।
वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसर पारेर डिभिजन वन कार्यालयले गोरखनाथ गण मुडे ब्यारेक र जिल्ला प्रहरी कार्यालय खोटाङलाई डढेलो नियन्त्रणका क्रममा उपयोग हुने विभिन्न प्रकारका औजार उपलब्ध गराएको हो ।
रेक, स्वाटर, एक्स–हो, रेक–हो, ब्याग प्याक पम्प, साभेल, हेल्मेट, बुट र ड्रेसको अलग–अलग सेट प्रदान गरिएको डिभिजन वन प्रमुख जगदीश रेग्मीले जानकारी दिए । डिभिजन वन कार्यालय खोटाङले उपलब्ध गराएको औजार मंगलबार प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेडाईंले सेना र प्रहरीलाई हस्तान्तरण गरेका हुन् ।
जागरण सप्ताह समापन कार्यक्रमको अवसरमा जिल्ला अग्नि नियन्त्रण सञ्जालसमेत गठन गरिएको छ । जिल्ला प्रशासन कार्यालयका प्रमुख एवं प्रतिनिधि संयोजक रहेको ११ सदस्यीय अग्नि नियन्त्रण सञ्जाल गठन गरिएको हो ।
वन तथा वातावरण मन्त्रालयको निर्देशनअनुसार खोटाङमा विभिन्न कार्यक्रम गर्दै चैत १ गतेदेखि सुरु गरिएको वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह समापन गरिएको छ । वन डढेलो व्यवस्थापन जनचेतना जागरण सप्ताह कार्यक्रम समापनको अवसरमा दिक्तेलस्थित रत्नपार्कदेखि सल्लेरी टोलस्थित वाणिज्य बैंकको शाखा कार्यालयसम्म र्याली निकालिएको थियो ।
र्यालीपछि जिल्ला समन्वय समितिको समीक्षालय हलमा आयोजित कार्यक्रममा डिभिजन वन अधिकृत रेग्मीले डढेलो लाग्ने कारण, नियन्त्रणका उपाय, नीतिगत तथा कानुनी व्यवस्था र योजनाबारे प्रस्तुति दिएका थिए । दश स्थानीय तह रहेको खोटाङ डढेलोको उच्च जोखिममा रहेको जनाइएको छ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]