देश पोष्ट /खोटाङ । आगामी फागुन–२ गतेदेखि केपिलासगढी गाउँपालिका–४ बाक्सिलामा सञ्चालन हुने बाक्सिला रनिङ गोल्डकप फुटबल प्रतियोगिताको खेल तालिका सार्वजनिक गरिएको हो ।
वि.सं. २०६१ सालमा स्थापना गरिएको बाक्सिला फुटबल क्लबले ‘बाक्सिला गोल्डकप’को १२ औँ संस्करण अन्तरगत फागुन–२ गते दिउँसो २ बजे नेर्पा स्पोर्टस क्लब नेर्पा र बाहुनीडाँडा फुटबल क्लबबीच पहिलो खेल हुने छ । यस्तै, फागुन–३ गते दिउँसो १ः३० बजे खारम्बु स्पोर्टस क्लब खार्मी र कटारी फुटबल क्लब उदयपुरबीच प्रतिस्पर्धा हुने जनाइएको छ ।
फागुन–४ गते दिउँसो १ बजे बाँझे स्पोर्टस क्लब र बाक्सिला फुटबल क्लब (ब्लु) तथा फागुन–४ गते दिउँसो ३ बजे भगवती स्पोर्टस क्लब खोटाङबजार र बाक्सिला फुटबल क्लब (रेड)बीच खेल हुने आयोजकले जनाएको छ ।
मोफसलमा फुटबलको व्यवसायिक विकासका लागि बिगत १९ वर्षअघि शुरु गरिएको बाक्सिला गोल्डकपको १२ औँ संस्करण पृथ्वी मावि बाक्सिलाको खेलमैदानमा सञ्चालन गरिने जनाइएको छ ।
प्रतियोगिताको उपाधि विजेता टिमलाई नगद रु दुई लाख ५५ हजार २१२ को साथमा गोल्डकप, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजक बाक्सिला फुटबल क्लबका अध्यक्ष शिवकुमार राईले जानकारी दिनुभएको छ । उपविजेताले नगद रु एक लाख २८ हजार तथा सेमिफाइनलिस्ट दुईवटा टिमले नगद रु ६०÷६० हजार प्राप्त गर्ने जनाइएको छ ।
प्रतियोगितामा प्लेयर अफ द टुर्नामेन्ट र हाईस्कोररले नगद रु सात÷सात हजार, बेस्ट डिफेन्डर र बेस्ट मिडफिल्डरले जनही नगद रु पाँच हजार ११२ तथा बेस्ट फरवार्ड र बेस्ट गोलकिपरले नगद जनही रु पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र हात पार्ने जनाइएको छ । फागुन–६ गतेसम्म सञ्चालन हुने प्रतियोगिता केपिलासगढी गाउँपालिकाको प्रमुख समिर राईले उद्घाटन तथा एन्फाका कोशी प्रदेश अध्यक्ष किशोर राईले समापन गर्ने कार्यक्रम रहेको जनाइएको छ ।
प्रतियोगिता नकआउट विधिबाट सञ्चालन गराइने जनाइएको छ । प्रतियोगिताको पहिलो खेलमा पराजित भएर बाहिरिने टिमलाई सेवासुविधा बापत नगद रु ३० हजार र दोस्रो खेलमा पुगेर पराजय बेहोर्ने टिमलाई प्रतिटिम नगद रु ६० हजार प्रदान गरिने क्लबका सचिव पवन श्रेष्ठले जानकारी दिनुभएको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]