देश पोष्ट /काठमाण्डौ । ललिता निवास जग्गा काण्डमा विशेष अदालतले नेताहरुले सफाइ दिनुका साथै कर्मचारी र बिचौलिया दोषी ठहर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाट ललिता निवासको ११३ रोपनी सरकारी जग्गा व्यक्तिको बनाएको उल्लेख गर्दै २०७६ माघ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दर्ता भएको थियो ।
बिशेष अदालतले तत्कालीन उपप्रधानमन्त्री विजयकुमार गच्छदार, तत्कालीन मन्त्रीहरू चन्द्रदेव जोशी र डम्बरकुमार श्रेष्ठ तथा पूर्वसचिव दिनेशहरि अधिकारीलाई आरोप दाबी पुग्न नसकेको ठहर गर्दै सफाइ दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वप्रमुख आयुक्त दीप बस्न्यात, पूर्वसचिव छविराज पन्त लगायतलाई दोषी ठहर गरेको छ । उनीहरूलाई दामासाहीले कायम हुने बिगो ८० लाख ४८ हजार रुपैयाँ जरिबाना हुने, बिगो असुलउपर हुने र जनही दुई वर्ष कैद हुने तथा सट्टाभर्नाको जग्गासमेत जफत हुने ठहर भएको छ ।
अदालतले रामकुमार सुवेदी, शोभाकान्त ढकाल, भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरुङलाई पनि दोषी ठहर गरेको छ ।
कलाधर देउजा, सुरेन्द्रमान कपाली, युक्तप्रसाद श्रेष्ठ, जगतप्रसाद पुडासैनीलाई दोषी ठहर्याउँदै विशेष अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत गर्ने निर्णय गरेको छ ।
छविराज पन्त र दीप बस्न्यातसहित तत्कालीन मालपोत र भूमिसुधार कर्मचारीलाई १९ रोपनी जग्गा हिनामिनामा नौ करोड ६५ लाख रुपैयाँ बिगो जफत हुने फैसला गरेको छ । अदालतले राजीनामा वा बकसपत्रबाट ६५ जनाको नाममा दर्ता भएको जग्गा जफत हुने ठहर गरेको हो ।
ललिता निवास जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि समेत छानबिन गर्नुपर्ने माग उठेको थियो । तर अख्तियारले बयान लिए पनि मन्त्रिपरिषद्ले गरेको नीतिगत निर्णयमा प्रवेश गर्ने क्षेत्राधिकार नभएको भन्दै उनीहरुलाई मुद्दा चलाएको थिएन ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]