देश पोष्ट /खोटाङ । वैदेशिक रोजगारीका सिलसिलामा संयुक्त अरब इमिरेट्स (युएई) पुगेका दुई खोटाङ्गेसहित १९ नेपाली युवालाई युएईमा रहेका मेची इन्टरनेशनल ओभर्सिज प्रा.लि.का अध्यक्ष राजकुमार चौधरी लगायत कम्पनीका स्टाफ बताउने सञ्जय थापाले ‘आफ्नै गल्ती भएको उल्लेख गर्दै भिडियो र कागज’ बनाउन दवाव दिएको जानकारी प्राप्त भएको छ ।
कामदार करारनामा अनुसारको काम, तलब र सेवासुविधा नपाएपछि आवाज उठाउँदै विभिन्न मिडियाको सम्पर्कमा पुगेका नेपाली युवालाई युएईमा रहेका सञ्जय थापाले ‘आफ्नै गल्ती भएको उल्लेख गर्दै भिडियो र कागज’ बनाउन दवाव दिएको पाइएको हो ।
मेची इन्टरनेशनल ओभर्सिज प्रा.लि., काठमाडौँमार्फत क्लिनरको कामका लागि युएईको नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस्मा पठाएको तर, करारनामा अनुसारको सेवा सुविधा नपाउँदा नेपाली कामदार अलपत्र परेको खबर चैत–१ गते सार्वजनिक भएको थियो ।
कामदार करारनामा अनुसारको काम र पारिश्रमिक नपाउँदा खोटाङको जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीका पर्शुराम राई र राजकुमार राई, सुर्खेतका भविष्य जिसी, पाल्पा तिनाउका देवसिं सुनारी, नवलपरासीका सुनिल श्रेष्ठ, दैलेखका मनबहादुर शाही, धादिङका तिलकबहादुर सुनार, कपिलवस्तुका मनोज थारु, उदयपुर गाईघाटका किशोर खत्री, गुल्मी मुसिकोटका हिमाल सरतुंगे, कालीकोटका जितेन्द्र शाही, मोरङका करन सरदार, ते¥हथुमका लक्ष्मीप्रसाद दुलाल, झापाका मिश्रीलाल दास, सिन्धुपाल्चोकका खड्कबहादुर श्रेष्ठ, उदयपुरका मानबहादुर कार्की, गोरखाका आशबहादुर गुरुङ, मोरङका पदम नेपाल र नुवाकोटका लाक्पा तामाङ अलपत्र परेको समाचार चैत–२ गते राष्ट्रिय समाचार समिति (रासस)मार्फत विभिन्न सञ्चारमाध्यममा प्रकाशन तथा प्रशारण भएको थियो ।
एकाघरको दाजुभाइ (पर्शुराम दाजु र राजकुमार भाइ) धन कमाउने सपनामा ऋण काढेर प्रतिव्यक्ति रु एक लाख ९९ हजारका दरले एजेन्टलाई धरौटी रकम बुझाएर यूएई गएको पारिवारिक श्रोतले जनाएको छ ।
काम र दाम विहीन बनेका आठ युवा हाल डेरा दुबईको क्लकटावरमा बसिरहेका छन् । उनीहरुले भने करारनामा अनुसारको सेवासुविधाबाट वञ्चित गराएर अलपत्र पार्ने अनि उल्टै ‘कमजोरी’ भयो भनेर कागज गराउन खोजेको भन्दै हस्ताक्षर गर्न अस्वीकार गरिरहेका छन् ।
उनीहरुले ‘मेरो कमजोरी छैन । बरु मर्न तयार छु, त्यस्तो कागजमा हस्ताक्षर गर्दिन’ भनेर थापालाई भ्वईस मेसेज गरेको पाइएको छ ।
खाने बस्ने सुविधासहित मासिक रु एक हजार १०० देखि रु एक हजार २०० तलब पाउनेगरी युएई लगिए पनि खानासहित मासिक रु ९०० र आफ्नै खाना खानेलाई मासिक रु एक हजार १०० दिने भन्ने गरिएको छ ।
उनीहरु एजेन्टलाई जनही रु एक लाख ९० हजारदेखि रु दुई लाख २० हजारसम्म बुझाएर युएई पुगेका थिए । मेची इन्टरनेशनल ओभर्सिज प्रालिका अध्यक्ष चौधरीले सम्झौता अनुसारको सेवासुविधा उपलब्ध गराउने ग्यारेन्टीका लागि फागुन–७ गते नूर अल अफ्सा क्लिनिङ सर्भिसेस ईष्ट र यूनिक स्टार जेनेरल सेक्यूरिटी गार्ड सर्भिसेस्लाई पत्र पठाएको पाइएको छ ।
करारनामा अनुसारको सेवासुविधा नपाउँदा अलपत्र परेका खोटाङका पर्शुराम र राजकुमार राईको उद्धारका लागि आफन्तले चैत–४ गते जिल्ला प्रशासन कार्यालय, खोटाङमा निवेदन दिएका थिए ।
यस्तै, वैदेशिक रोजगार विभागले मेनपावरलाई लिखित जवाफसहित उपस्थित हुन चैत–६ गते निर्देशन दिएको थियो ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :अस्मिता खत्री
सह-सम्पादक : तेन्जु योन्जन (मलेसिया)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]