
देश पोस्ट देश पोष्ट /काठमाण्डौ । देशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना देखिएकोले सुरक्षित हुन राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अनुरोध गरेको छ ।
देशका विभिन्न ठाउँमा रातिदेखि नै पानी परिरहेको छ,राति सिन्धुपाल्चोक र बागलुङमा भेलबाढी आउने गरी ठूलो पानी परे पनि अहिले भने रोकिएको छ, डडेलधुरा, कैलाली, नवलपरासी, चितवन, धनकुटा, झापा लगायतका ठाउँमा भने अहिले पनि पानी परिरहेको छ ।


कैलालीको धनगढी एरपोर्ट वर्षामापन केन्द्रमा मध्यम वर्षा मापन भएकोले त्यो क्षेत्र भइ बहने ससाना खोलाहरुमा बहाब बढ्न सक्ने भएकोले तटीय क्षेत्र तथा डुवान भइरहने होचा भू–भागमा रहनुहुनेहरूले सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
भोलिसम्म कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो पानी पर्न सक्ने भएकाले उच्च सतर्कता अपनाउन प्राधिकरणले निकालेको सूचनामा भनिएको छ ।
यस अवधिमा लुम्बिनी प्रदेशका बाँके, बर्दिया र दाङ, कर्णाली प्रदेशका सुर्खेत, दैलेख र सल्यान, सुदूरपश्चिम प्रदेशका बैतडी, डडेल्धुरा, डोटी, अछाम, कैलाली र कञ्चनपुर तथा अरू प्रदेशका पहाडी भू–भागका एक÷दुई ठाउँमा मुसलधारे वर्षाको सम्भावना छ ।
ठूलो वर्षाका कारण ती ठाउँमा भूक्षय, बाढी, पहिरो, डुबान तथा गेग्य्रान बहावको जोखिम रहेकाले उच्च सतर्कता अपनाउन प्राधिकरणको सल्लाह छ ।
यस अवधिभर अत्यन्त जरुरी अवस्थाबाहेक यात्रा नगर्न, मौसमी बुलेटिनहरूको अद्यावधिक जानकारी लिन, डुबान हुनसक्ने क्षेत्रका भुइँतलामा बस्ने नागरिकले विशेष सतर्कता अपनाउन, नदी किनाराका बस्तीमा उच्च सतर्कता अपनाउन तथा सकेसम्म नदी किनारमा नजान, नदी किनारका निर्माण कार्य रोक्न, उच्च जोखिम रहेका जिल्लाका विपद् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले यातायात सञ्चालनबारे आवश्यक निर्णय गर्न तथा त्यसको पालना गर्न र तीनवटै सुरक्षा निकाय, पालिका एवम् स्वयंसेवकलगायत सरोकारवाला निकाय तयारी अवस्थामा रहन प्राधिकरणको अनुरोध रहेको छ ।
सूचना विभाग दर्ता नं. – १५०३/०७६/०७७
प्रवन्धक/सम्पादक : लोकमणि रिजाल
सह-सम्पादक :सन्तोष घिमिरे (जापान)
कानूनी सल्लाहकार : ओम प्रकाश घिमिरे
दिक्तेल, रुपाकोट मझुवागढी-१४ खोटाङ्ग, प्रदेश नं. १
मोबाईल नं ९८४२९०६६४२
Email: [email protected]